काश्मिरमा प्रहरी र सयौँ प्रदर्शनकारीबीच झडप
श्रीनगर, भारत, ३१ साउन : भारत प्रशासित काश्मिरमा सयौँको सङ्ख्यामा भेला भएका स्थानीयले सरकारको निर्णयको विरोधमा प्रदर्शन गर्ने क्रममा शुक्रबार भारतीय प्रहरीसँग झडप भएको छ ।
भारतले काश्मिरको अवस्था सामान्य बन्दै गएको भन्दै शनिबारदेखि सञ्चारको साधन टेलिफोन सेवालाई सञ्चालन गर्ने बताइरहेका समय शुक्रबार काश्मिरी मुसलमानहरूको एक समूह र प्रहरीबीच झडप भएको बताइएको छ । यद्यपि झडपमा प्रहरी तथा प्रदर्शनकारी के कति घाइते भए यसबारे सूचना पाउनलाई प्रशासनको धरपकडका कारण कठिनाई भएको जनाइएको छ ।
हजारौँको सङ्ख्यामा श्रीनगरमा सरकारको निर्णयविरोधी प्रदर्शन भइरहँदा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको एएफपीका काश्मिरस्थित सम्वाददाताले बताएका छन् ।
सरकारले काश्मिरलाई स्वायत्तता दिने बुँदालाई निलम्बन गरेपछि काश्मिर क्षेत्रमा विगत १२ दिनदेखि व्यापक सुरक्षा तैनादी भएको छ । सुरक्षाको समस्या देखाउँदै काश्मिरमा चार जनाभन्दा बढी व्यक्ति भेला हुन र प्रदर्शन गर्न पूर्णरूपमा निषेध गरिएको छ ।
काश्मिरमा गतिविधिलाई खुकुलो पारिएको प्रशासनको भनाई
भारतको केन्द्रीय सरकारले आफ्नो मातहतमा ल्याएको काश्मिरमा लागु गरिएका केही कानूनहरू खुकुलो बनाउन लागिएको जनाएको छ । सरकारको निर्णयसँगै उक्त क्षेत्रमा स्थानीयलाई हिँडडुलका लागि सहज भएको सरकारी अधिकारीले बताएका छन् ।
प्रहरी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार फोन र इन्टरनेट सेवा भने अहिले पनि पूर्ण रुपमा संचालन हुन दिइएको छैन । तर यसलाई विस्तारै सहज बनाउने तयारी भइरहेको छ ।
स्वायत्त राज्यको अधिकार खोसेर केन्द्रीय सरकार मातहत नै ल्याउने निर्णय केन्द्रीय सरकारले गरेपछि हिंसा भड्कीन सक्ने आशंका गरेर कश्मीरमा संचार सेवादेखि प्रदर्शन गर्न नपाईने लगायतका कानुनहरु लागु गरेको थियो ।
काश्मिरमा अहिले दशौँ हजार थप सुरक्षाकर्मीहरु खटाइएको छ । पाँच लाखभन्दा बढी सुरक्षाकर्मी यसअघि नै रहेका थिए ।
हिन्दुहरुको बाहुल्यता रहेको जम्मुमा भने तुलनात्मक रुपमा धेरै शान्त रहेको अधिकारीहरुले जनाएका छन् ।
उनीहरुले निषेधात्मक कानुनहरु विस्तारै खुकुलो पारिदै लगिने र जनजीवन सामान्य हुने अपेक्षा गरिएको बताएका छन् ।
