‘सबै जाति र धर्मबीच सहकार्य हुनुपर्ने’

उर्लाबारी, २ असार : प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले समाज परिवर्तनका लागि सबै जाति र धर्मबीच सहकार्य आवश्यक रहेकामा जोड दिनुभएको छ । मोरङको उर्लाबारी नगरपालिका–३ स्थित धिमाल जाति विकास केन्द्रले जात्री पर्व समापनको अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उपसभामुख तुम्बाहाम्फेले आफ्नो धर्म संस्कार मात्र होइन, अन्य जातिको संस्कार संस्कृतिलाई पनि सम्मान गर्नुपर्ने बताउनुभयो ।

उहाँले नेपालको संविधानको मौलिक हकमा सबै धर्म र संस्कारको जगेर्ना गर्नुपर्ने कुरा उल्लेख भएकाले सरकार सबै धर्म र संस्कार संस्कृतिको जगेर्ना एवं प्रवद्र्धनमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

केन्द्रका अध्यक्ष तेजबहादुर धिमालको अध्यक्षतामा भएको कार्यक्रममा धिमाल जातिबाट पहिलो पटक विद्यावारिधि गर्नुहुने मोरङकै पथरीशनिश्चरे नगरपालिकाका सोमबहादुर धिमाललगायत धिमाल समुदायबाट खेलकूद, शैक्षिक, कलालगायतका क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

धिमाल जाति पूर्वी नेपालको प्रदेश नंं १ मा बसोबास गर्दै आएको आदिवासी हो । मुख्य रुपमा झापा र पूर्वी मोरङमा बस्दै आएका धिमालहरुको जनसङ्ख्या ५० हजारको हाराहारीमा रहेको संविधानसभा सदस्य पर्तमान धिमाल बताउनुहुन्छ ।

वैशाख २ देखि असार २ गतेसम्म धिमाल समुदायले जात्री पर्व मनाउँछन् । नयाँ वर्षको आगमनसँगै जात्री पर्व शुरु हुने गर्छ । धिमाल जातिको उद्गमस्थल मानिएको मोरङको लेटाङ नगरपालिकाको भोगटेनीस्थित राजारानीमा मेला लगाएर जात्री पर्व शुरु हुन्छ । ग्रामथानमा हाँस, कुखुरा, सुँगुरलगायतको बलि दिएर सो पर्व प्रारम्भ गरिन्छ ।

सिर्जात अर्थात् सामूहिक पूजा वा जात्री नयाँ वर्षको पहिलो चाड भएकाले सालभरि कसैलाई पनि रोगव्याधी नलागोस्, शोक नपरोस् र सुख–शान्ति छाओस् भनेर मनाइने प्रचलन छ । यो पर्वमा धर्म ठाकुर, लक्ष्मी, चौमाझी, बूढा ठाकुरलगायतको पूजा गरिने धिमाल जाति विकास केन्द्रका महासचिव केदार धिमाल बताउनुहुन्छ ।

आज उर्लाबारीमा जात्री मेला आयोजना गर्दै यस वर्षको पर्व समापन भएको छ । जात्रीका अवसरमा आज मोरङका उर्लाबारी, पथरी, शनिश्चरे, बेलबारी नगरपालिका तथा कानेपोखरी गाउँपालिका र झापाको दमक नगरपालिकाले स्थानीय सार्वजनिक बिदासमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.