थाइल्याण्डले जुन ५ मा नयाँ प्रधानमन्त्री चयन गर्ने
बैङ्कक, १७ जेठ : थाईल्याण्डमा आउदो जुन ५ तारिखका दिन नयाँ प्रधानमन्त्री चयन हुने भएको छ ।
नयाँ गठन भएको संसदका नवनिर्वाचित सभामुख चुआन लिक्पैले प्रधानमन्त्री निर्वाचनको मितिबारे शुक्रबार जानकारी दिनुभएको हो ।
प्रतिनिधि सभा र सिनेटको संयुक्त बैठकमा सवै सांसदहरुलाई प्रधानमन्त्रीका लागि मतदान गराइने सभामुखले पत्रकार सम्मेलनमा बताउनुभयो ।
यसअघि राजा माहाभाजिरालोङकर्नले प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि एक एक जना सभामुख र दुई दुई जना उपसभामुख नियुक्तिको लागि अनुमोदन गर्नुभएको छ ।
उहाँहरुको नियुक्ति सदर भएको विषय थाईल्याण्डको राजपत्रको वेबसाईटमा उल्लेख गरिएको छ । उनीहरुले आफूसँग सम्बन्धित सभाको अध्यक्षता गर्नुहुनेछ ।
