अष्ट्रियाका चान्सलर कर्ज अविश्वासको मतका आधारमा अपदस्थ 

भियना, जेठ १४ : अष्ट्रियाका चान्सलर सेबास्टन कर्जलाई अविश्वासको मतका आधारमा अपदस्थ गरिएको छ ।

उहाँको पिपुल्स पार्टीले गत हप्ता सम्पन्न यूरोपेली संसदको निर्वाचनमा सशक्त विजय हाँसिल गरेपछि उहाँलाई अविश्वासको मतद्वारा सोमबार पदबाट हटाइएको हो । राष्ट्रपतिले अव अर्को निर्वाचन तोक्ने र सो समयसम्मका लागि कामचलाउ सरकारका लागि आह्वान गर्नुपर्ने यहाँको कानूनी व्यवस्था छ ।

अष्ट्रियामा यसै महिनाको शुरूमा एक भिडियोमार्फत कर्जको सरकारको गठबन्धन सहयोगीसमेत रहेको एक दक्षिणपन्थी समूहका नेता तथा पूर्व भाइस–चान्सलर हेन्ज क्रिश्चियन स्टार्चले एक महिलासँग गरेको कुरालाई लिएर सञ्चारमाध्यममा समाचारहरू आएपछि स्टार्चले राजीनामा दिनुभएको थियो ।

एक धनाड्य रूसी कुलीन परिवारकी नातेदार भनेर विश्वास गरिएकी ती महिलासँग भाइस–चान्सलरसँग अष्ट्रियाली निर्वाचनलाई प्रभावित पार्ने सन्दर्भमा भएको कुराकानी सार्वजनिक भएपछि उहाँले नैतिकताको आधारमा गत शनिबार पार्टी तथा सरकारको नेतृत्वबाट राजीनामा दिनुभएको थियो ।

उहाँमाथि राजनीतिक सहयोगका लागि सरकारी करार कुनै शक्तिशाली समूहलाई पारिदिन सम्झौता गरेको आरोप लागेको थियो । भाइस चान्सलरको राजीनामालाई कर्जले सोही दिन स्वीकृत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.