वाग्मती तीर्थयात्रा समूह सुन्दरीजलमा
पूर्णप्रसाद मिश्र ।काठमाडौँ, ३१ वैशाख : वाग्मती तीर्थयात्रीको समूह आज ३२ तीर्थको भ्रमण गर्दै वाग्मतीको शिरोभाग सुन्दरीजलमा पुगेको छ ।
बिहान ७ बजे पशुपति मन्दिरबाट शुरु भएको यात्रा गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजलसम्मको ३२ तीर्थमा स्नान, पूजा र दर्शन गर्दै दिउँसो शिरोभाग पुगेको हो । तीर्थमा यज्ञसहित ३२ पार्थिव लिङ्ग पूजनसमेत गरिएको थियो ।
पशुपतिनाथ मन्दिरबाट सुन्दरीजलसम्म विराट, दुर्गा, क्षेत्रपाल, जयमङ्गला, आकाशभैरव, गङ्गा, कुशोदक, शौभाग्य, कुवेर, गौरी, खर्बरी, सूर्यभागा, नारायण, त्रिवेणीका, पार्वती, गोखुराख्य, अगस्त्य, नीलकण्ठ, वासुकी, देवधर, रुद्रसहस्र तीर्थमा स्नान, पूजा र दर्शन गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो ।
यसैगरी अनन्त, ब्रह्मसहस्र, आर्या, विष्णुसहस्र, चक्र, चन्द्रभागा, वत्सला, पञ्चविनायक, मृगोदक, गणेश र भृगुपतन गरी ३२ स्थानमा स्नान, पूजा र दर्शन गरिएको पनि उहाँले बताउनुभयो । पशुपतिनाथबाट नदी किनार पैदलयात्रा गरी तीर्थ परेका स्थानमा स्नान, पूजा र दर्शन गरी तीर्थयात्री समूह सुन्दरीजल पुगेको यात्राका मूल पुरोहित महेश भट्टले बताउनुभयो । आजको बास सुन्दरीजलस्थित महाँकालघाटमा हुनेछ ।
बेलुकी वाग्मतीको तान्त्रिक साधनासहित नदीको महत्वका बारेमा प्रवचन गरिने जनाइएको छ । हिमवत्खण्डलगायत पौराणिक ग्रन्थमा उल्लेख भएका वाग्मतीको महत्वका बारेमा तीर्थयात्राका मूल पुरोहित भट्टले वाचन गर्नुहुनेछ ।
वैशाख शुक्ल षष्ठीका दिन वैशाख २७ गते शुक्रबार बिहान पशुपतिनाथ मन्दिर परिसरबाट यात्रा शुरु भएको थियो । समूह कटुवालदहबाट सुन्दरीघाट, टेकु शङ्खमूल हुँदै पशुपति क्षेत्र आइपुगेको थियो । ने मुनिले शुरु गर्नुभएको विश्वास गरिने वाग्मती तीर्थयात्रा वाग्मती प्रदूषित हुन थालेपछि विसं २०४१ देखि बन्द भएको थियो । कोषका सदस्य सचिव डा ढकालको विशेष पहलमा विसं २०७५ देखि तीर्थयात्रा पुनःशुरु भएको हो ।
तीर्थयात्राका क्रममा कटुवालदहबाट वाग्द्वारसम्मका १६५ तीर्थस्थलमा स्नान, पूजा, आरती, दर्शन, तान्त्रिक साधना, वाग्मती माहात्म्य वाचनलगायत कर्म गरिन्छ । जेठ १ गते बुधबार बिहान सुन्दरीजलबाट वाग्द्वारसम्म यात्रा गरिनेछ । बुधबार राति वाग्द्वारमै बास बसी स्नान, पूजा, दर्शन गरिनेछ । वाग्द्वारमा सबै तीर्थयात्रीले नृत्य गर्नुपर्ने विधि रहेको आगम घरका पुजारी मदन भट्टले बताउनुभयो । बिहीबार बिहान वाग्द्वारबाट बूढानीलकण्ठ आई स्नान, पूजा एवं दर्शन गरिनेछ । बिहीबार बेलुकीको बास बस्न बज्रयोगिनी पुगिन्छ ।
जेठ ३ गते शुक्रबार चाँगुनारायण स्नान, पूजा र दर्शन गरी पशुपतिनाथ आएर बास बसिनेछ । जेठ ४ गते शनिबार वैशाख शुक्ल पूर्णिमाका दिन पशुपति रुद्रगाडेश्वरमा समापन यज्ञ गरेपछि यस वर्षको नौ दिने यात्रा समापन हुनेछ । त्यसै दिन यात्राको जल प्रसाद वितरण गरिने जनाइएको छ ।
विसं २०४१ सम्म वैशाख कृष्ण चतुर्दशीदेखि वैशाख शुक्ल पूर्णिमासम्म १७ दिन यात्रा गरिन्थ्यो । गत वर्ष पुनःनिरन्तरता दिँदा यसको अवधि साता दिन थियो । यस वर्ष नौ दिन गरिएकामा विसं २०७७ मा बढाउने कोषले जनाएको छ ।
यात्रामा ५३ जना महिला भक्तसहित १११ तीर्थयात्री छन् । विसं २०४१ सम्म वाग्मती नदीभित्र पानीमै खाली गोडा यात्रा हुन्थ्यो । हाल नदी प्रदूषित भएकाले नदी किनारमा यात्रा भइरहेको सहभागी हरिकृष्ण पाण्डेले बताउनुभयो ।
नदी स्वच्छ हुँदा कटुवाल दहबाट वाग्द्वारसम्मका १६५ वटै तीर्थस्थलमा वाग्मतीकै जलले स्नान गरिन्थ्यो । हाल प्रदूषित पानी भए पनि हातमा छम्कँदै हिँड्न बाध्य हुनुपरेको पुजारी भट्टले गुनासो गर्नुभयो । कतिपटक त फोहर पानीले हातमा चिलाएर घाउ भएको अनुभवसमेत उहाँले सुनाउनुभयो ।
बुधबारको यात्रामा भने स्वच्छ पानी प्रवाहित भएको वाग्मतीमा तीर्थयात्रा गरिने जनाइएको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्र भएर बुधबार दिउँसो यात्रा समूह वाग्मतीको उद्गमस्थल वाग्द्वार पुग्नेछ ।
