पशुपतिनाथमा आइपुग्यो वाग्मती तीर्थ यात्रा समूह
काठमाडौँ, ३० वैशाख : ऐतिहासिक वाग्मती तीर्थयात्रीको समूह आज १६ तीर्थको भ्रमण गर्दै पशुपति क्षेत्रमा आइपुगेको छ । बिहान ७ बजे शङ्खमूलबाट शुरु भएको यात्रा पशुपति क्षेत्रसम्मको १६ तीर्थमा स्नान, पूजा र दर्शन गर्दै दिउँसो राजराजेश्वरी पुगेको हो । तीर्थमा यज्ञसहित १६ पार्थिव लिङ्ग पूजन गरिएको थियो ।
शङ्खमूलबाट पशुपतिनाथसम्म त्रिलोचन, सत्यभामा, सुवर्ण, पृथुकाख्य, त्रिविक्रम, उमापति, राजराजेश्वरी, क्षत्री, क्षेत्रपाल, भस्मङ्गा, शापान्तक, पीशाचमोचनी, मणि, प्रयागवती, ब्रह्मा र विष्णु तीर्थ गरी १६ स्थानमा स्नान, पूजा र दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो ।
बेलुकी वाग्मतीको तान्त्रिक साधनासहित नदीको महत्वका बारेमा प्रवचन गरिने जनाइएको छ । हिमवत्खण्डलगायत पौराणिक ग्रन्थमा उल्लेख भएका वाग्मतीको महत्वका बारेमा तीर्थ यात्राका मूल पुरोहित महेश भट्टले वाचन गर्नुहुने बताइएको छ ।
वैशाख शुक्ल षष्ठीका दिन यही वैशाख २७ गते बिहान पशुपतिनाथ मन्दिर परिसरबाट यात्रा शुरु भएको थियो । ‘ने’ मुनिले शुरु गर्नुभएको विश्वास गरिने वाग्मती तीर्थ यात्रा वाग्मती प्रदूषित हुन थालेपछि विसं २०४१ देखि बन्द भएको थियो । कोषका सदस्यसचिव डा ढकालको विशेष पहलमा विसं २०७५ देखि तीर्थ यात्रा पुनः शुरु भएको हो ।
तीर्थ यात्राका क्रममा कटुवाल दहबाट वाग्द्वारसम्मका १६५ तीर्थस्थलमा स्नान, पूजा, आरती, दर्शन, तान्त्रिक साधना, वाग्मती माहात्म्य वाचनलगायत कर्म गरिन्छ । मङ्गलबार शङ्खमूलबाट सुन्दरीजलसम्मको यात्रा गरिने जनाइएको छ । पशुपतिनाथबाट गुह्येश्वरी–गोकर्णेश्वर हुँदै सुन्दरीजलसम्मका तीर्थमा स्नान, पूजा र दर्शन गरिनेछ । मङ्गलबारको वास सुन्दरीजलमै हुनेछ ।
जेठ १ गते बुधबार बिहान सुन्दरीजलबाट वाग्द्वारसम्म यात्रा गरिनेछ । बुधबार राति वाग्द्वारमै बास बसी स्नान, पूजा, दर्शन गरिनेछ । वाग्द्वारमा सबै तीर्थयात्रीले नृत्य गर्नुपर्ने विधि रहेको आगम घरका पुजारी मदन भट्टले बताउनुभयो । बिहीबार बिहान वाग्द्वारबाट बूढानीलकण्ठ आई स्नान, पूजा एवं दर्शन गरिनेछ । बिहीबार बेलुकीको बास बस्न बज्रयोगिनी पुगिन्छ ।
जेठ ३ गते शुक्रबार चाँगुनारायण स्नान, पूजा र दर्शन गरी पशुपतिनाथ आएर बास बसिनेछ । जेठ ४ गते शनिबार वैशाख शुक्ल पूर्णिमाका दिन पशुपति रुद्रगाडेश्वरमा समापन यज्ञ गरेपछि यस वर्षको नौ दिन यात्रा समापन हुनेछ । त्यसै दिन यात्राको जल तथा प्रसाद वितरण गरिने जनाइएको छ ।
विसं २०४१ सम्म वैशाख कृष्ण चतुर्दशीदेखि वैशाख शुक्ल पूर्णिमासम्म १७ दिन यात्रा गरिन्थ्यो । गत वर्ष पुनः निरन्तरता दिँदा यसको अवधि साता दिन थियो । यस वर्ष नौ दिन गरिएकामा विसं २०७७ मा बढाउने कोषले जनाएको छ ।
यात्रामा ५३ जना महिला भक्तसहित १११ तीर्थयात्री छन् । विसं २०४१ सम्म वाग्मती नदीभित्र पानीमै खाली गोडा यात्रा हुन्थ्यो । हाल नदी प्रदूषित भएकाले नदी किनारमा यात्रा भइरहेको सहभागी हरिकृष्ण पाण्डेले बताउनुभयो ।
नदी स्वच्छ हुँदा कटुवाल दहबाट वाग्द्वारसम्मका १६५ वटै तीर्थस्थलमा वाग्मतीकै जलले स्नान गरिन्थ्यो । हाल प्रदूषित पानी भए पनि हातमा छम्कँदै हिँड्न बाध्य हुनुपरेको पुजारी भट्टले गुनासो गर्नुभयो । कतिपटक त फोहर पानीले हातमा चिलाएर घाउ भएको अनुभवसमेत उहाँले सुनाउनुभयो ।
