भारतमा छैठौँ चरणको निर्वाचनको प्रचारप्रसार बन्द
छैठौँ चरणको निर्वाचन यही मे १२ तारिखका दिन आइतबार हुने तय भएको छ । यस चरणमा ५९ ओटा निर्वाचन क्षेत्रमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।
आइतबार हुने निर्वाचनबाट संघीय मन्त्री मेनका गान्धी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, काँग्रेस नेता दिग्विजय सिंह र भारतीय जनता पार्टी (भाजपा)का प्राज्ञ सिंह ठाकुरसहित ९६८ जनाको राजनीतिक फैसला हुने भएको छ ।
यस चरणमा उत्तर प्रदेशका १४, हरियानाका दश, मध्य प्रदेश, विहार र पश्चिम बंगालका आठ आठ, नयाँ दिल्लीका सात र झारखण्डका चार निर्वाचन क्षेत्रमा मतदान हुन लागेको हो ।
यसअघिको लोकसभा निर्वाचनमा यी ५९ सिट मध्ये भारतीय जनता पार्टीले ४४ ठाउँमा जित हासिल गरेको थियो ।
भारतमा गत अप्रिल ११ देखि यस पटकको लोकसभा निर्वाचन भइरहेको छ । सात चरणमा हुने केन्द्रीय निर्वाचनको अन्तिम चरण यही मे १९ मा सम्पन्न हुनेछ । यसअघि अप्रिल १८ मा दोस्रो चरणको, अप्रिल २३ मा तेस्रो चरणको, अप्रिल २९ मा चौथो चरणको र यही मे ६ तारिखका दिन पाँचौँ चरणको निर्वाचन भएको छ ।
सम्पूर्ण निर्वाचनको परिणाम यही मे २३ देखि सार्वजनिक हुनेछ ।
