रुसी र अमेरिकी विदेशमन्त्री भेटघाटको तयारीमा

मस्को, २५ वैशाख : रुसका विदेशमन्त्री सेर्गेइ लाभ्रोभ र अमेरिकी विदेशमन्त्री माइक पोम्पेओेले भेटवार्ताको तयारी गर्नुभएको छ । उहाँहरूबीच अर्को हप्ता रुसको सोचीमा भेटवार्ता गर्ने तयारी भएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

रुसका उप–विदेशमन्त्री इगोर मोर्गुलोभले दिएको जानकारीअनुसार उहाँहरूबीच यही मे १४ तारिखका दिन भेटवार्ता हुन लागेको हो ।

मस्को र वाशिङटनबीचको छलफलको मुख्य विषय भने उत्तर कोरिया नै रहेको मोर्गुलोभले पत्रकारहरूलाई जानकारी दिनुभयो ।

उत्तर कोरियाकै विषयमा केही दिन अगाडि मात्रै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पनि टेलिफोन वार्ता भएको थियो ।

पुटिन र ट्रम्पको कुराकानीकै आधारमा दुई देशका विदेशमन्त्रीहरूको भेटवार्ता हुन लागेको अधिकारीहरूले बताएका छन् ।

उत्तर कोरियासँग विश्व समुदायको सम्बन्ध सुधार हुन लागेको अपेक्षा गरिरहेका बेला उत्तर कोरियाप्रति असन्तुष्टी र आशङ्का जनाउँदै विश्वका दुई ठूला देशका शीर्ष नेताहरूबीच भइरहेका र हुन लागेका छलफललाई महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.