फिजी एयरवेजद्वारा बोइङ ७३७–८०० बिमानको उडान स्थगित

सुभा, २३ बैशाख : दक्षिण प्रशान्त महासागरीय मुलुक फिजीको राष्ट्रिय ध्वजाबाहक फिजी एयरवेजले बोइङ ७३७–८०० बिमानको उडान स्थगित गरेको छ । कम्पनीले गत महिना मियामी एयरबाट उक्त जहाज भाडामा लिएको थियो ।

मियामी एयरले सञ्चालन गरेको यही मोडेलको बिमान अमेरिकाको ज्याक्सनभिल्ले बिमानस्थलमा शुक्रबार राति अवतरण गर्नेक्रममा चिप्लिएर नदीमा झरेपछि फिजी एयरले उक्त निर्णय गरेको जनाएको छ ।

फिजी एयरका एकजना प्रवक्ताले फ्लोरिडाको उक्त घटनाका बारेमा अध्ययन भइरहेको बताएका छन् ।

प्रवक्ताले फ्लोरिडा दुर्घटनाका बारेमा तथ्यहरु बाहिर आएपछि मात्र उडान गर्ने वा नगर्ने निर्णय लिइने पनि बताए । बिमानका यात्रुको सुरक्षा नै आफ्नो पहिलो प्राथमिकता रहेको पनि ती प्रवक्ताले उल्लेख गरे ।

गत अप्रिलमा फिजी एयरवेजले आफ्ना दुई वटा ७३७ म्याक्स ८ सिरिजका जहाजहरु ग्राउन्डेड भएपछि मियामी एयरसँग बिमान भाडामा लिएको थियो । बोइङको ७३७ म्याक्स सिरिजका बिमानहरुमा समस्या आएपछि हाल विश्वभर यस सिरिजका बिमान उडान रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.