थाइल्याण्डका राजाको राज्याभिषेक समारोह

बैँकक, २१ वैशाख  : थाइल्याण्डका राजा महा वजिरालंगकर्णले शनिबार राज्याभिषेक गर्नु भएको छ । बैंककस्थित ग्राण्ड प्यालेसमा जल सेचन गरेर राज्याभिषेक गराइएको दरबारका अधिकारीहरुले जनाएका छन् ।

थाइल्याण्डमा राज्याभिषेकलाई राज्य संचालनको पूर्ण अधिकारका लागि गरिने एउटा महत्वपूर्ण सांस्कृतिक प्रक्रियाको रुपमा लिइन्छ ।

पवित्र जल राजाको शिरमा छर्केर शुद्ध बनाएर राज्याभिषेक गराइने धार्मिक तथा संस्कृतिक परम्परा रहेको छ । स्थानीय समयानुसार शनिबार विहान ९ बजेदेखि सुरु भएको राज्याभिषेक समारोहको टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । दिउसो १ बजे सम्म समारोह चलेको थियो ।

राज्याभिषेक समारोहमा राज्याभिषेकका लागि राजा वजिरालंगकर्ण रानी सुथिडासहित उपस्थित हुनु भएको थियो ।

थाई नरेश वजिरालंगकर्णले केही दिन अगाडी मात्रै आफ्नै सुरक्षामा खटिएकी महिलासँग विवाह गर्नु भएको हो । ६६ बर्षीय नरेशले ४० बर्षीया महिलासँग तेस्रो विहे गरेर उहाँको नाम रानी सुथिडा राखिएको छ ।

अहिले विहे गरेकी महिला राजा वजिरालंगकर्ण युवराज छँदै सन् २०१४ मा अंगरक्षकको समूहमा प्रवेश गर्नु भएको थियो ।

सुथिडाले राजाको विशेष सुरक्षा दस्तामा रहेर लामो समय काम गर्नुभएको छ । शाही सुरक्षामा जोडिनु अघि उहाँ थाई एयरलाइन्समा परिचारिका हुनु भएको थियो ।
राजा वजिरालंगकर्णको यसअघि तीन जनासँग विवाह भएपनि तीनै जनासँग सम्बन्ध बिच्छेद भैसकेको छ ।

थाई नरेशले तेस्री श्रीमतीसँग पाँच बर्षअघि १३ बर्ष लामो वैवाहिक सम्बन्धलाई विच्छेद गर्नु भएको थियो । पहिलेका तीन विवाहबाट थाई नरेशका सात सन्तान छन् ।

थाईल्यान्डमा लामो समय राज्य गरेका भूमिवोल अदुल्यादेजको सन् २०१६ मा निधन भएपछि उहाँका छोरा वजिरालंगकर्ण राजा बन्नु भएको हो ।

थाईल्यान्डमा संवैधानिक राजतन्त्र छ । राजपरिवारलाई थाइहरूले निकै श्रद्धा गर्छन् र उनीहरूसँग शक्ति पनि छ । थाईल्यान्डमा राजपरिवारको आलोचना गर्न मनाही गरेको कडा कानूनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.