सर्वोच्च परामर्श परिषद् गठन गर्न बहुपक्षीय सहमति
नोमपेन्ह, ७ भदौ : कम्बोडियाली राजनीतिक पार्टीका नेताहरु र कम्बोडिया सरकारबीच सल्लाह एवं सिफारिस सर्वोच्च परिषद स्थापना गर्न सहमत भएका छन् ।
कम्बोडियाली प्रधानमन्त्री हुन सेनले बिहीबार यस्तो सहमति भएको जानकारी दिँदै यस्तो परिषदले राष्ट्रिय सरोकारका मुद्दाहरुमा सरकार र राजनीतिक पार्टीबीच परामर्श मञ्चको रुपमा कार्य गर्नेछ ।
परिषद स्थापनाका लागि गत मङ्गलबार भएको छलफलको क्रममा जुलाई २९ मा सम्पन्न आमनिर्वाचनमा सहभागी २० वटा पार्टीमध्ये १६ वटा पार्टीको सहभागिता रहेको प्रधानमन्त्री हुन सेनले बताउनुभयो ।
“राजनीतिक पार्टीका नेताहरुले यस कदमको पूर्ण समर्थन गरेका छन्,” ६७ वर्षीय प्रधानमन्त्री हुन सेनले दक्षिणी कानदाल प्रान्तको तयारी पोशाक कारखानामा कार्यरत १७ हजार ५०० मजदूरलाई सम्बोधन गर्दै यस्तो जानकारी दिनुभएको हो ।
गत जुलाई २९ मा भएको आमनिर्वाचनमा २० वटा राजनीतिक दलले सहभागिता जनाएका थिए । प्रधानमन्त्री हुन सेनको पार्टी सिपीपीले संसदका सबै १२५ स्थान जितेको थियो ।
