रुसी सुरक्षा प्रमुख र दक्षिण कोरियाली राष्ट्रपतिबीच भेटवार्ता

सोल, १२ बैशाख : रुसको सुरक्षा परिषद्का सचिव निकोलै पत्रुशेभले दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

उहाँहरूबीच बिहीबार राष्ट्रपति भवन ब्लु हाउसमा भेटवार्ता भएको राष्ट्रपति कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

पत्रुशेभ नेतृत्वको रुसी प्रतिनिधि मण्डलले मुनलाई स्थानीय समय अनुसार बिहीबार बेलुका पाँच बजेदेखि ४५ मिनेटसम्म भेटेको थियो ।

भेटवार्ताका क्रममा मुनले उत्तर कोरियाका नेता किम जोङ् अन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीचको शिखर बैठकले कोरियाली प्रायद्धिपमा स्थायी शान्ति स्थापनाका लागि रचनात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँहरूको बैठकले उत्तर कोरिया र अमेरिकाबीचको अर्को बैठक र थप सम्वन्ध सुधारका लागि पनि आधार तयार पारिदिने आशा जगाएको किमको भनाई थियो ।

रुसी राष्ट्रपति पुटिन र उत्तर कोरियाली नेता अनबीच पहिलो पटक बिहीबार रुसमै शिखर बैठक भएको छ ।

रुसको सुदूरपूर्वी तटीय शहर भ्लादिभोस्तकमा भेटवार्ता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

रुसी राष्ट्रपति पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम बुधबार निजी रेलमा चढेर रुसको भ्लादिभोस्तक पुग्नुभएको थियो । उहाँलाई भ्लादिभोस्तकमा स्थानीय जनताले परम्परागत सांस्कृतिक वेशभुषासहित स्वागत गरेका थिए ।

भेटमा रुसी राष्ट्रपति पुटिनले कोरियाली प्रायःद्वीपमा उत्पन्न तनाबका सन्दर्भमा आफ्ना तर्फबाट सकारात्मक प्रयत्न जारी राख्ने बताउनुभएको छ ।

उहाँले नेता किमलाई स्वागत गर्दै भन्नुभयो, “तपाइँको भ्रमणबाट द्विपक्षीय सम्बन्धमा अझ सुधार आउनेछ, र कोरियाली प्रायःद्वीपमा उत्पन्न विविध विषयलाई सम्बोधन गरी राम्रो समाधान खोज्नेतर्फ हामी सफल हुनेछौं ।”

उत्तर कोरियाली नेता किमले भ्रमणका बारेमा पहिलो प्रतिक्रिया दिँदै कोरियाली प्रायःद्वीपका विविध विषयलाई सम्बोधन गर्न रुसी राष्ट्रपति पुटिनसँगको भेटवार्ता अर्थपूर्ण रहेकोे बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले, विश्वकै ध्यान कोरियाली प्रायःद्वीपमा केन्द्रित भएको छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.