लाखेनाचको रौनक बढ्दै

सङ्खुवासभा, ६ भदौ : परम्परादेखि सङ्खुवासभाको चैनपुरसँगै, खाँदबारी, खराङ, वानालगायतका ठाउँमा निकालिँदै आएको लाखेनाच यो वर्ष पनि नागपञ्चमीको आगमनसँगै लाखेनाच्नेको भीड देखिन थालेको छ ।

नेवार समुदायको बाहुल्यता रहेको चैनपुर बजारमा यस वर्षको लाखेनाच चैनपुर समाजसेवा युवा क्लबको विशेष आयोजनामा निकालिएको छ । चैनपुर मात्र नभएर नेवार समुदायको बाहुल्यता रहेको जिल्लाका अन्य बजार क्षेत्रमासमेत लाखेनाचको रौनक शुरु भएको छ ।

बिहीबार चैनपुुरको सरस्वती थानमा रहेको नाट्येश्वर बाबाको मन्दिरमा समाजका ज्येष्ठ सदस्य राजकुमार कर्माचार्य, माधवप्रसाद कर्माचार्य र पदमकुमार शाक्यलगायतबाट विधिवत् पूजाआजा गरी शुरुवात गरिएको लाखेनाच चैनपुर बजार परिक्रमा गर्दै जिरोप्वाइन्टसम्म प्रदर्शन गरिएको थियो ।

उपत्यकाका तीन शहर काठमाडौँ, भक्तपुर र ललितपुरबाट बसाई सरी आएका चैनपुर बजारका शाक्यले यो पर्व धुमधामका साथ मनाउने गरेका छन् ।

सो दिन सबै शाक्य परिवारले स्नान गरी चैत्य तथा विहारमा पुगेर महिलाले आ–आफ्नो गक्ष्यअनुसार धान, चामल, गेँडागुडी, पैसा मिठाई फलफूल आदि दान गर्ने चलन रहेको छ ।

सङ्खुवासभा जिल्लाको पुरानो सदरमुकामको रुपमा समेत परिचित चैनपुर बजारमा बसोबास गर्दै आएका नेवार समुदायले प्रत्येक वर्ष नागपञ्चमीका दिनबाट शुरु गर्ने लाखे नाच एलपञ्चदान, गाईजात्रा, हिलेजात्रालगायतका विविध पर्व मनाउँदै श्री कृष्ण जन्माष्टमीको भोलिपल्ट बेलुकी बजार सिरानको कृष्ण मन्दिरमा कृष्णलीलासहित विशेष साङ्गीतिक कार्यक्रम आयोजना गरेर सोही दिनबाट विधिवत्रुपमा लाखेनाचको अन्त्य गर्ने चलन रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.