जापानका ओलम्पिक मन्त्रीद्वारा राजीनामा

टोकियो, २७ चैत : आगामी वर्ष सन् २०२० मा घरेलु मैदानमा हुने ओलम्पिक प्रतियोगिताको तयारी तीव्र भइरहेका बेला जापानका ओलम्पिक मामिलामन्त्रीले राजीनामा दिनुभएको छ ।

विगत केही हप्तादेखि लगातार विभिन्न सामाजिक त्रुटीहरू भएपछि मन्त्री योशिताका साकुरादाले बुधबार राजीनामा दिनुभएको हो । जापानले आयोजना गर्ने ओलम्पिक प्रतियोगिताको उद्घाटन हुने दिन आउन झण्डै ५०० दिन बाँकी रहँदा आएको मन्त्रीको राजीनामाले प्रतियोगितालाई कुनै असर भने नपर्ने दाबी गरिएको छ । उहाँका कतिपय सामजिक त्रुटीका बारेमा सर्वत्र आलोचना भएपछि उहाँले राजीनामा दिन बाध्य हुनु परेको हो ।

केही हप्ता अगाडि उहाँ बजेट समितिको बैठकमा निर्धारित समयभन्दा ३ मिनेट ढिलो पुग्दा विपक्षीहरूले झण्डै पाँच घण्टा बैठक अवरुद्ध गरेका थिए । उनीहरूले मन्त्रीको ढिलाइले कार्यालयप्रतिको अपमान दर्शाएको भन्दै बैठक वहिष्कार गरेपछि उहाँको धेरै आलोचना भएको थियो ।

त्यसैगरी केही साता अगाडि साकुरादाले ओलिम्पिक्समा पौडीमा पदक जित्ने आशा गरिएकी जापानी खेलाडी रिकाको इकिलाई ल्युकेमिया रोग लागेको पत्ता लागेपछि आफू निराश भएको बताउनु भएको थियो । त्यसपछि पनि उहाँको सर्वत्र आलोचना भएपछि उहाँले माफी नै माग्नु परेको थियो ।

सन् २०१६ मा पनि उहाँले दोस्रो विश्व युद्धताका जापानी सैनिकलाई मनोरञ्जन गराउन बाध्य पारिएका कम्फर्ट वुमन भनिने महिलाहरूलाई ‘व्यवसायिक वेश्या’को संज्ञा दिएपछि आलोचित हुनु परेको थियो । उहाँलाई मन्त्रीको जिम्मेबारीबाट हटाउन आवश्यक छ की छैन भन्ने बारेमा गरिएको एक मत सर्वेक्षणले ६५ प्रतिशतले उहाँलाई हटाउनुपर्ने मत जाहेर गरेका थिए ।

जापानका प्रधानमन्त्री सिन्जे आवेले राजीनामाका लागि आफूले आग्रह गरेपछि उहाँले गल्ती स्वीकार गर्दै राजीनामा दिएको जानकारी दिनुभयो । उहाँलाई हटाउनु पर्ने पक्षमा पार्टी भित्रैबाट चर्को दबाब परेको थियो । उहाँलाई नियुक्त गर्ने मात्रको रूपमा आफूबाट पनि कमजोरी भएको भन्दै प्रधानमन्त्री आवेले क्षमा याचना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.