अफ्रिकाका पाँच पूर्वराष्ट्रपतिले केन्नेथलाई भेट्ने

लुसाका, २७ चैत : अफ्रिकी विभिन्न देशका पाँच जना पूर्वराष्ट्रपतिले जाम्बियाका प्रथम राष्ट्रपति केन्नेथ कौन्डालाई भेट्ने भएका छन् ।

केन्नेथको ९५औँ जन्मोत्सवका अवसरमा ती राष्ट्रपतिहरूले उहाँलाई यही अप्रिलको अन्त्यतिर भेट्ने कार्यक्रम तय भएको एक नेताले बुधबार जानकारी दिएका छन् । मोजाम्बिकका पूर्व राष्ट्रपति जोअचीम चिसानोले केन्नेथलाई आफुहरूले जन्मदिनको अवसरमा आउँदो अप्रिल २८ तारिखका दिन भेट्ने तयारी गरेको जानकारी दिनुभयो ।

अफ्रिकी नेताहरूको अनौपचारिक सञ्जालको रूपमा रहेको अफ्रिकन फोरमको संयोजनमा भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम हुन लागेको उहाँले बताउनुभयो । सो फोरमको अध्यक्ष अहिले चिसानो नै हुनुहुन्छ । उहाँले नै अन्य देशका पूर्वराष्ट्रपतिहरूलाई आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।

उहाँले मलावीका पूर्वराष्ट्रपति बाकिलि मुलुजी, तान्जानियाका पूर्वराष्ट्रपति अली हसन विनी, बोटसवानाका पूर्वराष्ट्रपति फेस्टुस मोगाय र नामिबियाका पूर्वराष्ट्रपति हिफिकेपुन्य पोहाम्बा गरी आफू बाहेक चार जनालाई निमन्त्रणा गरिएको जानकारी दिनुभयो ।

उहाँहरूको यो भेटलाई ऐतिहासिक, साङ्केतिक र दक्षिणी अफ्रिकामा स्वतन्त्रताका लागि केन्नेथले दिनुभएको योगदानको सम्मानको रूपमा लिनुपर्ने चिसानोको भनाइ छ ।

आफ्नो देशका प्रथम राष्ट्रपतिलाई शुभकामना दिन विभिन्न देशका पूर्वराष्ट्रपतिहरू आउने कार्यक्रमलाई जाम्बियाले भव्य बनाउने जनाएको छ ।

जाम्बियाका प्रथम राष्ट्रपति कौन्डा सन् १९२४ मा जन्मिनु भएको हो । उहाँले जाम्बियाको स्वतन्त्रताका लागि ठूलो सङ्घर्ष गर्नुभएको थियो भने सन् १९६४ देखि १९९१ सम्म राष्ट्रपतिको रूपमा जिम्मेवारी सम्हाल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.