कोरियाको उत्तरपश्चिममा डढेलो, एक व्यक्तिको मृत्यु

सोल, २२ चैत : सोल, २२ चैत : दक्षिण कोरिया सरकारले देशको उत्तरपूर्वी क्षेत्रको जङ्गलमा बिहीबार राति सल्किएको डढेलोका कारण तटीय क्षेत्रका पाँचवटा शहर नराम्रोसँग प्रभावित भएपछि शुक्रबार राष्ट्रिय प्रकोपको घोषणा गरेको छ ।

डढेलोका कारण एक जनाको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएका थिए ।

राष्ट्रिय राजधानी सोलबाट करिब २ सय १० किलोमिटर उत्तरपश्चिममा रहेको जङ्गलमा स्थानीय समयानुसार बिहीबार राति सो आगलागी शुरु भएको थियो । तीव्र हावाहुरीका कारण जङ्गलको डढेलोले करिब दुई सय ५० हेक्टर वन क्षेत्र ध्वस्त भएको छ भने एक सय २५ वटा घर क्षतिग्रस्त भएका छन् ।

हजारौँ स्थानीयबासीलाई रातारात सकुसल उद्धार गरिएको थियो । दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले राति नै राष्ट्रिय प्रकोप व्यवस्थापन निकायसँग छलफल गर्नुभएको थियो । उहाँले उपलब्ध साधन र स्रोतको अधिकतम प्रयोग गरी डढेलो नियन्त्रण गर्न आदेश दिनुभएको छ ।

तीव्र बेगको हावा र अँध्यारोका कारण अग्निनियन्त्रकहरुलाई डढेलो नियन्त्रणको काममा कठिनाई उत्पन्न भएको बताइएको छ । यस डढेलो नियन्त्रणका लागि दशभन्दा बढी हेलिकोप्टर आगलागी प्रभावित क्षेत्रमा पठाइएको छ ।

उद्धार कार्यमा १० हजारभन्दा बढी अग्नि नियन्त्रक, सुरक्षाकर्मी र अन्य उद्धारकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.