इरानी राष्ट्रपति रौहानी इराक भ्रमणमा

बग्दाद, २७ फागुन : इरानका राष्ट्रपति हसन रौहानी तीन दिने औपचारिक भ्रमणको क्रममा सोमबार इराकको राजधानी बग्दाद पुग्नुभएको छ ।

अमेरिकाले इराकलाई छिमेकीहरुको सम्बन्ध सीमित राख्न दबाब दिइरहेका अवस्थामा रौहानीको औपचारिक भ्रमण भएको छ ।

तेहरानबाट प्रस्थान गर्नुअघि रौहानीले इरान र इराकबीच “विशेष सम्बन्ध” रहेको बताउनुभयो । उहाँले इरान र इराकबीचको सम्बन्ध इराक र “आक्रमणकारी मुलुक अमेरिका”बीच रहेजस्तो सम्बन्ध होइन भन्दै छिमेकी मुलुकहरुलाई जस्तोसुकै सहयोग गर्न इरान तयार रहेको बताउनुभयो ।

इराकी र इरानी टेलिभिजनहरुले राष्ट्रपति रौहानीको भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप सुदृढ र सुमधुर हुने बताएका छन् ।

इराकीया टेलिभिजन च्यानलका अनुसार राष्ट्रपति रौहानीलाई बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा इराकका राष्ट्रपतिले स्वागत गर्नुभएको थियो । उहाँले इराकमा रहँदा वरिष्ट इराकी अधिकारीहरु, अरु राजनीतिक नेताहरु तथा धार्मिक नेताहरुसँग भेटघाट गर्नु हुनेछ ।

इराकी राष्ट्रपति बरहाम सलिहको निमन्त्रणामा इरानी राष्ट्रपति रौहानी बगदाद जानुभएको हो । उहाँहरुबीच द्विपक्षीय सम्बन्ध र सहयोगका बारेमा छलफल हुने बताइएको छ ।

इरानी विदेश मन्त्री मोहम्मद जावद जारिफ पनि रौहानीको भ्रमणका बारेमा छलफल गर्न आइतबार नै बगदाद पुग्नु भएको थियो ।

इरानी तेल उद्योग, बैंकिङ र यातायात क्षेत्रमाथि कडा अमेरिकी प्रतिबन्धहरु लागू भइरहेका बखत राष्ट्रपति रौहानीले इराकको भ्रमण गर्नुभएको छ ।

इरान र इराकबीच विगतमा दशौं वर्षसम्म भिषण युद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.