माध्यमिकी परिक्रमालाई जलेश्वरमा स्वागत

गौशाला, २६ फागुन : मिथिलाको महाकुम्भ मानिएको माध्यमिकी परिक्रमालाई आज महोत्तरी सदरमुकाम जलेश्वरमा स्वागत गरिएको छ । बुधबार धनुषाको कचुरीस्थित मिथिला विहारी कुटीबाट मिथिला विहारी तथा जनकपुरस्थित अग्निकुण्डका किशोरीजीको डोलाका साथ धार्मिक विधिअनुसार जानकी मन्दिर हुँदै धार्मिक झाँकी भजनकीर्तनसहित परिक्रमा शुरु गरिएको थियो ।

बिहीबार सिमावर्ती भारतीय गाउँ कलानेश्वरमा, शुक्रबार भारतकै गिरिजास्थान (फुल्हर), तेस्रो दिनको विश्राम शनिबार महोत्तरीको मटिहानीमा र आज चौथो पडावका लागि जलेश्वर आइपुग्दा परिक्रमालाई स्थानीयवासीले भव्य स्वागत गरेका थिए । बाँजागाजा र नाचगानका साथ भगवान् राम र माता जानकीको डोला लिएर हजारौँको सङ्ख्यामा जलेश्वर प्रवेश गरेका परिक्रमालाई जलेश्वरवासी र महोत्तरी प्रशासनले पूजापाठ गरी भव्य स्वागत गरेको थियो ।

जलेश्वरवासीले ठाउँठाउँमा परिक्रमा गर्नेहरुका लागि निःशुल्क भोजन, पानी, दाउरा र बिजुलीको व्यवस्था गरेका थिए । परिक्रमाका सहभागीहरु आज जलेश्वरमा चौथो पडाव, मडैमा पाँचौँ, धु्रवकुण्डमा छेठौँ र कञ्चनवनमा सातौँ दिनको बास बसेर आठौँ दिनको पडाव पुनः धुनषाको पर्वतामा बस्नेछन् । त्यसपछि धनुषाधाम, औरही, विशौल हुँदै पुनः भारतको कलानेश्वर र फागुन पुर्णिमाको दिन जनकपुर फर्कने छ । परिक्रमामा सहभागीका लागि वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले १५ वटै विश्रामस्थलमा बिजुली, खानेपानीलगायत व्यवस्था मिलाएको छ ।

मिथिला महात्म्यअनुसार १८औँँ शताब्दीदेखि यो धर्म यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएको हो । यस यात्राका सहयात्रीले नेपालमा १०७ तथा भारतमा २६ किलोमिटर भूमिमा पैदलयात्र गर्ने परम्परा छ । परिक्रमामा भारतको अयोध्या, मथुरा, हरिद्वार, दरभङ्गा, सितामढी र बैजनाथधामका साधु उल्लेख्य रुपमा सहभागी छन् ।

फागुन शुक्ल प्रतिपदाको शुभसाइतबाट प्रारम्भ हुने यो धर्मयात्रा १५ दिनभित्र जनकपुर पुगी होली खेलेर फागुन पुर्णिमा तिथि पारी समापन गरिने परम्परा छ । प्राचिन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा निमार्ण गरिएका कल्याणेश्वर, जलेश्वर, क्षिरेश्वर र सप्तेश्वर शिवालयलाई आधार मानि यो परिक्रमा यात्राको शुरुआत गरिएको हो । मिथिलाको महाकुम्भसमेत नामाकरण गरिएको यस परिक्रमा यात्रामा नेपाल र भारतका सयौँ साधुसन्त, महन्त र गृहस्थको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.