लुम्बिनीमा प्रवज्या शिविर शुरु
रुपन्देही, १२ फाुगन : बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि प्रवज्या शिविर शुरु भएको छ । तेईस दिनसम्म चल्ने शिविरमा एकै पटक एक हजार ११९ जनाले प्रवज्या लिने कार्यक्रम छ ।
शिविरअन्तर्गत १७ गते मायादेवी परिसरमा धार्मिक अनुष्ठानका साथ कुलपुत्रहरुले प्रवज्या लिने कार्यक्रम रहेको आज थाई भिक्षुहरुले लुम्बिनीमा पत्रकार सम्मेलन गरी जानकारी दिनुभएको छ ।
नेपालका प्रथम महासङ्घनायक अरिय धम्मरक्खित नेपाल बुद्ध शासन वंशालङ्कारसिरी सङ्घमहानयक अग्गमहापण्डित’ भिक्षु भद्धन्त प्रज्ञानन्द महास्थवीरको १२९आँै जन्मजयन्तीका अवसर पारेर नेपाली कुलपुत्रहरुलाई प्रवज्जित गर्ने कार्यक्रम राखिएको थाई भिक्षु कोनले जानकारी दिनुभयो ।
शिविरमा सहभागी हुन नेपाल भारत, थाइल्याण्डलगायत विभिन्न देशका भिक्षुहरु सोमबार लुम्बिनी आउने कार्यक्रम छ । कार्यक्रमको तयारीका लागि थाइल्याण्डका भिक्षुहरु लुम्बिनी आइपुग्नुभएको छ ।
बुद्धको जीवनी, लुम्बिनीको महत्व, बौद्ध धर्म र शिक्षाबारे जानकारी गराउन सामूहिक रुपमा प्रवज्या अर्थात् एकै पटक धेरैलाई भिक्षु बनाउने गरिन्छ । प्रवज्या कार्यक्रममा स्थायी तथा अस्थायी रुपमा भिक्षु बनाई बुद्धको उपदेश दिने कार्यक्रम रहेको थाई भिक्षु थावरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बुद्ध नेपालमै जन्मिए पनि धेरै मानिसमा बौद्ध धर्मको आचरण छैन, यो कार्यक्रमले बुद्ध दर्शन र शिक्षालाइ प्रचार गर्नेछ ।”
थाई दाताहरु, विभिन्न विहार र नेपाल पर्यटन बोर्डको सहयोगमा पाचाँै पटक लुम्बिनीमा प्रवज्या शिविर आयोजना गरिएको हो । सामूहिक रुपमा प्रवज्जित भएपछि सबै भिक्षुलाई देशका विभिन्न शहरमा सामूहिक रुपमा भिक्षाटन गराइने कार्यक्रम छ । बुद्ध धर्मअनुसार शाक्यमुनिमा एक दिनका लागि भए पनि भिक्षु बन्नै पर्छ भन्ने मान्यता छ ।
थाई भिक्षु कोनका अनुसार २३ दिने शिविरअन्तर्गत आज नाम दर्ता गर्ने कार्यक्रम छ । सोमबार प्रवज्या लिनेहरुको कपाल मुण्डन गर्ने र लुम्बिनीमा भिक्षुहरुको जमघट हुने विशेष समारोहबीच प्रवज्या लिने कार्यक्रम छ ।
यस्तै फागुन १७ गते लुम्बिनीमा भिक्षाटन गरी फागुन १८ गते काठमाडाँै फर्कने कार्यक्रम छ । फागुन २९ गते बुटवल, पाल्पा लगायतका देशका विभिन्न शहरमा भिक्षाटनको कार्यक्रम राखिएको छ । ३० गते शान्तिदीप प्रज्वलन गर्ने र चैत ३ गते समापन कार्यक्रम छ ।
शिविरअन्तर्गत १७ गते हुने सामूहिक प्रवज्या कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपराष्ट्रपति नन्दकिशोर पुन, पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायत देश–विदेशका उच्चपदस्थ व्यक्तिहरु लुम्बिनी आउने कार्यक्रम तय भएको कार्यक्रमका सहयोगी प्रवीण शाक्यले जानकारी दिनुभयो ।
