‘विपद्पूर्व तयारी एवं प्रतिकार्य योजना’ तयार

शुरबहादुर सिंह । बाँके, २८ माघ : सुदूरपश्चिम, कर्णाली र प्रदेश नं ५ का विज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागितामा ‘विपद्पूर्व तयारी एवं प्रतिकार्य योजना’ तयार भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजना, विश्व स्वास्थ्य सङ्गठनको सहयोग र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको व्यवस्थापनमा ‘विपद् पूर्वतयारी एवं प्रतिकार्य योजना’ तयार गरिएको हो । निर्मित विपद् प्रतिकार्य योजनाको व्यवहारिक अभ्यास आज प्रदेश नं ५ को बाँके जिल्लाको भेरी प्रदेश अस्पताल तथा नेपालगञ्ज मेडिकल कलेजमा गरिएको छ । अभ्यासको अध्ययन अवलोकन स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रप्रसाद यादव र प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले गर्नुभएको छ ।

यो योजनाबाट खासगरी भूकम्प, बाढी र पहिरोलगायतका प्राकृतिक एवं मानवीय विपद्को प्रतिकार्य गर्ने र नागरिकको जीवन सुरक्षामा सहयोग पुग्ने राज्यमन्त्री डा यादवले विश्वास दिलाउनुभयो । “निकै मेहनतका साथ विपद् प्रतिकार्य योजना बनाइएको छ”, उहाँले भन्नुभयो, “यसको व्यवस्थित कार्यान्वयनमा सरोकारवाला सबैले ध्यान दिनुपर्छ ।”

इण्डीयन र तीब्बती प्लेटको बीचमा नेपाल पर्ने भएकाले साविकको मध्य तथा सुदूरपश्चिम क्षेत्र विपद्को उच्च जोखिम रहेको बताउँदै राज्यमन्त्री डा यादवले त्यसको सामना र प्रतिकार्यका लागि बलियो तयारी गर्न अस्पतालमा कार्यरत सबै चिकित्सकलाई निर्देशन दिनुभयो ।

अस्पतालमा उपलब्ध जनशक्तिलाई सही सदुपयोग गर्न सुझाउनुभएका उहाँले बिरामीको सबैभन्दा बढी चाप पर्ने भेरी प्रादेशिक अस्पताललाई केन्द्रीय अस्पतालका रुपमा विकास गरिने धारणा राख्नुभएको थियो ।

प्रदेश नं ५ का सामाजिक विकासमन्त्री बरालले जटिल पहाडी भूगोल भएका तीनै प्रदेशका नागरिक विपद् पर्दा अस्पताल नपुग्दै मर्नुपर्ने विवशता रहेको बताउनुभयो । “हाम्रो समस्या भनेको व्यवस्थापन र बनेका संयन्त्रको सक्रियतामा कमी नै हो”, मन्त्री बरालले भन्नुभयो, “निर्मित संयन्त्रको सक्रियता र बनेको योजनाको प्रभावकारी कार्यान्वयनले हाम्रो लक्ष्य र उद्देश्य पूरा हुन्छ ।”

कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा राजेन्द्रराज वाग्ले, जनसङ्ख्या मन्त्रालयका आपत्कालीन तथा विपद् एकाइ, स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख चूडामणि भण्डारी, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेल, सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद ज्ञवाली, विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि दामोदर अधिकारी, डा नवीन फुयाँल, डा सुम्मना बज्राचार्य लगायतले निर्मित विपद् प्रतिकार्य योजनालाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.