रु एक करोडको स्मृति कोष स्थापना, भण्डारी सम्मानित

काठमाडौँ, १६ माघ : गत वर्ष दिवङ्गत हुनुभएका संविधानसभाका पूर्वसदस्य शिक्षासेवी डा बाबुराम पोखरेलको स्मृतिमा उहाँको परिवारले रु एक करोडको अक्षयकोष स्थापना गरेको छ ।

डा बाबुराम पोखरेल स्मृति समाजद्वारा आयोजित कार्यक्रममा उहाँका छोरा डा वविनले कोष स्थापनाको घोषणा गर्नुभएको हो । डा पोखरेलले संविधानसभाबाट प्राप्त गरेको रकममा धर्मपत्नी उर्मिलाले रु ३० लाख र छोरा डा वविन र डा युविनबाट रु १०/१० लाख थपेर सोे कोष स्थापना गरिएको हो ।

कोषमार्फत हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिको सम्मानसँगै कर्णाली क्षेत्र र गोरखाका असहाय तथा गरीब परिवारमा शैक्षिक सामग्री र लत्ताकपडा वितरण गरिने तथा काठमाडौँमा किरियापुत्री भवन निर्माणसँगै काठमाडौँ महानगरपालिका वडा नं ११, ३१ र ३२ मा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिने परिवारले जनाएको छ । यस्तै कोषमार्फत भिएस निकेतनका कक्षा ९, १०, ११ र १२ का जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने डा वविनले जानकारी दिनुभयो ।

कार्यक्रममा सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले डा पोखरेल संविधानसभाबाटै संविधान जारी गर्नुपर्छ भन्ने चिन्ता बोक्ने व्यक्ति भएको स्मरण गर्दै शिक्षा क्षेत्रमा उहाँले दिएको योगदान अविष्मरणीय रहेको उल्लेख गर्नुभयो । उहाँले शिक्षालाई व्यापारका रुपमा नभई सेवाका रुपमा हेर्नुपर्ने र व्यावहारिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले डा पोखरेलको योगदानलाई जीवित बनाउन परिवारसँग आग्रह गर्दै उहाँले समाजमा अतुलनीय योगदान दिएको उल्लेख गर्नुभयो । महान्यायाधिवक्ता अग्नि खरेलले डा पोखरेल केही गरौं भन्ने भावना बोक्ने व्यक्ति भएको स्मरण गर्दै राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तिका रुपमा सम्झनुभयो ।

सांसद उमेश श्रेष्ठले डा पोखरेलले समाजमा अनुसरण गर्नलायक काम गरेको उल्लेख गर्दै मुलुक बनाउने हो भने पहिलो काम शिक्षाबाटै शुरु गर्नुपर्ने बताउनुभयो । उहाँले सम्भव भएसम्म सरकारले शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउनुपर्नेमा जोड दिनुभयो ।

यसैवीच डा बाबुराम पोखरेल स्मृति समाजले आज काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ को मातहतमा रहने गरी सञ्चालन हुने एम्बुलेन्सका लागि रु १० लाख प्रदान गरेको छ । उक्त रकम नेकपाका वरिष्ठ नेता नेपालले वडाध्यक्ष नारायणप्रसाद भण्डारीलाई चेकमार्फत हस्तान्तरण गर्नुभएको थियो ।

पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रिय समाचार समिति (रासस) का उपप्रमुख समाचारदाता शरच्चन्द्र भण्डारीलाई डा. बाबुराम पोखरेल स्मृति सम्मान प्रदान गर्दै ।तस्वीर: रिजा श्रेष्ठ

राससका उपप्रमुख समाचारदाता भण्डारी सम्मानित 

पत्रकारिताका माध्यामबाट समाजको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै समाजले राष्ट्रिय समाचार समिति (रासस)का उपप्रमुख समाचारदाता शरच्चन्द्र भण्डारीलाई सम्मान गरेको छ । उहाँलाई पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपालले दोसल्ला ओढाएर कदरपत्रले सम्मान गर्नुभएको थियो ।

भण्डारीसँगै विभिन्न क्षेत्रबाट समाजमा योगदान पु¥याएका सगुन शाह, इन्दिरा याक्थुम्बा र डा वासुदेव कोइरालालाई सम्मान गरिएको थियो । सो क्रममा विभिन्न विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गरिएको थियो । भिएस निकेतन शैक्षिक प्रतिष्ठानका संस्थापक डा पोखरेलको मुटुसम्बन्धी रोगका कारण गत वर्ष पुस २३ गते निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.