कालीगण्डकी नदीको पुल बन्दै नरबहादुर

कावासोती, १५ माघ : उमेरले ५३ वर्ष लाग्नुभएका नरबहादुर कुमालले कालीगण्डकी नदीमा डुङ्गा खियाएको धेरै वर्ष बित्यो । झण्डै २० वर्षअघि देखि डुङ्गा चलाउँदै आउनुभएका कुमालको हिजोआजको दैनिकी पनि उस्तै छ । बीस वर्षमा नदीमा कति पानी बग्यो, डुङ्गा तर्ने कहाँ कहाँ पुगे तर कुमाल अझै डुङ्गा चलाउँदै आउनुभएको छ । नरबहादुर कुमाल वर्षौंंदेखि कयौँका लागि पुल बन्नुभएको छ ।

कालीगण्डकी नदीको भृकुटी घाटमै डुङ्गा चलाएर उहाँको युवा अवस्था बित्यो र वर्तमान पनि त्यसैगरी बितिरहेको छ । कुमाल भन्नुहुन्छ, “सायद अब बुढेसकाल पनि यही डुङ्गा खियाएर बित्नेछ ।”

नवलपरासी पूर्वको बुलिङ्टार गाउँपालिका–३ तम्घामा बस्ने कुमालको घर नजिकै पर्ने तनहुँ र नवलपुर छुट्टाउने सिमानाको कालीगण्डकी नदी । जुन बेला नदीमा पुल थिएन, त्यो बेला पुलको काम गर्ने नरबहादुरले अहिले पुल बनिसक्दा पनि त्यो कामलाई निरन्तरता दिन छोड्नुभएको छैन । यही नदीमा डुङ्गा चलाएर उहाँको घरपरिवार चलिरहेको छ । उहाँको आम्दानीको स्रोतनै डुङ्गा बनेको छ । कुमालले डुङ्गा चलाएर आम्दानी मात्र गर्नुभएको छैन, उहाँका कारण यस क्षेत्रका धेरै बालबालिकाले पढ्न समेत पाएका छन् ।

कालीगण्डकी पारीको तनहुँ जिल्लामा पर्ने सिरकोटबँेसी र सिगुवाका धेरै विद्यार्थीले उहाँकै कारण पढ्न पाएका छन् । अहिले पनि उहाँले दिनहुँ पाँच विद्यार्थीलाई डुङ्गाबाट आवतजावत गराउँदै आउनुभएको छ । सिरकोटबेँसी र सिगुवाका ५ कक्षाभन्दा माथि पढ्ने विद्यार्थी बुलिङ्टारमा रहेको विद्यालयमा पढ्न आउँछन् । गाउँमै माध्यमिक तहसम्म पढ्ने विद्यालय नहुँदा विद्यार्थी नदी तरेर बुलिङ्टार पढ्न आउनुपर्ने बाध्यता रहेको नरबहादुर कुमालले बताउनुभयो ।

आजसम्म उहाँले सयौँ विद्यार्थीलाई वारपार गराइसक्नुभएको छ । अहिले नदीमा पुल त बनेको छ तर यी दुई गाउँका विद्यार्थीलाई पुलबाट आवतजावत गर्न टाढा पर्ने हुँदा उनीहरु विद्यालयसम्म आउनका लागि डुङ्गा नै चढ्नुपर्छ । कुमाल भन्नुहुन्छ, “विद्यार्थीकै लागि भएपनि मैले जस्तोसुकै अवस्थामा डुङ्गा चलाउनै पर्छ, नभए उनीहरु पढ्न पाउँदैनन् ।” नरबहादुरले डुङ्गा चढेको भाडा रु २० लिने गर्नुहुन्छ तर विद्यार्थीसँग जम्मा रु १० लिने गर्नुहुन्छ ।

विसं २०५६ बाट डुङ्गा चलाउन शुरु गर्नुभएका कुमालको आम्दानीको मुख्य स्रोत नै डुङ्गा हो । २०५६ सालमा डुङ्गा चलाउन शुरु गर्दा उहाँले रु दुई भाडाबाट शुरु गरेको स्मरण गर्नुभयो । कालीगण्डकीमा पुल नबन्दासम्म उहाँको कमाइ राम्रै थियो । तर कालीगण्डकी नदीमा पुल निर्माण भएपछि अहिले अधिकाँश मानिस पुलबाट नै आवतजावत गर्न थालेका छन् ।

अहिले पनि प्रत्येकदिन कम्तीमा १० देखि १५ जनालाई उहाँले डुङ्गाबाट नदी वारपार गराउँदै आउनुभएको छ । चाडपर्वका बेलामा भने अलि बढी कमाई हुने उहाँले बताउनुभयो । बाउबाजेले पनि यही काम गरेकाले आफूले पनि यही कामलाई निरन्तरता दिएको उहाँको भनाइ छ । यसैबाट कमाएको पैसाले नै छोराछोरीको पढाइ खर्चदेखि अन्य घरखर्च चलाउँदै आएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.