बौद्ध धर्मावलम्बीहरुद्वारा सम्यक दान सम्पन्न

भादगाउँ, १ माघ : माघे संक्रान्तिका अवसरमा भक्तपुरका बौद्ध धर्मावलम्बीहरुले आज सम्यक दान पर्व सम्पन्न गरे । लिच्छवी कालदेखि चल्दैआएको मानिने सम्यक दान पर्व बौद्ध धर्मावलम्बीहरुको मौलिक पर्व हो । विभिन्न स्वरुपका बुद्ध प्रतिमा र विहारका गुरु पुरोहितलाई आ–आफ्नो मनोकांक्षा पूरा होस् भन्ने अपेक्षासहित सर्वसाधारणले आजका दिन दान दिने गर्छन् । माघे संक्रान्तिमा नेवार समुदायले घीउ, चाकुका साथै तिलको लड्डु खाने प्रचलन रहेको छ ।

सम्यक दानका लागि बिहान सबेरै भक्तपुरको क्वाठण्डौ प्रशन्नशील महाविहार, साकोथा चतुब्र्रम्ह महाविहार, गोल्मढी मङ्गल धर्मदीप विहार, इटाछें जयकीर्ति महाविहार (थथुबही) र भार्वाचो बौद्ध समकृत विहारका गरी पाँच दीपंकर बुद्ध एवं प्रशन्नशील महाविहारका क्वाचपाल देवता, सम्यक दान दाताको कुलदेवता, थासंद्यो (सुवर्ण चैत्य), चार लुँद्यो (सुवर्ण दीपंकरहरु) तथा प्रशन्नशील महाविहारका स्थविर आजु, गुणकीर्ति महाविहार (थिमि)का उपाध्याय गुरुजू एवं मूलपूरोहित गुरुजूहरुलाई भक्तपुर जयकीर्ति महाविहार थथुबहीस्थित भुइख्यल क्षेत्रमा जम्मा गरिएको थियो ।

सम्यक दानमा भूमिमा उव्जाउ हुने सबै प्रकारका अन्न, गेडागुडीका साथै फलफूल र मिठाइ दान गरिन्छ । साथै धान, चामल, लड्डु (रोटी र सख्खर मिलाइ बनाएको विशेष प्रकारको लड्डु), पुरी र दक्षिणा दान गरिन्छ । सम्यक भोजनमा सहभागी गृहस्थ भिक्षुहरु, बज्राचार्य र शाक्य वर्गलाई पनि यही सामग्रीहरु दान दिइन्छ । यस पर्वमा दान गर्ने दाताले बौद्ध विहारहरुमा दीक्षित भई गृहस्थ भई बसेका शाक्य, बज्राचार्य र बन्देहरुलाई भोजन र अन्न दान गरी पर्व मनाउँछन् ।

लिच्छवी राजा वृषदेवको पालामा यो पर्व शुरु भएको विश्वास गरिन्छ । काठमाडौँ उपत्यकामा साँंस्कृतिक सम्यक दान पर्व नियमित र ऐच्छिक रुपमा चल्दै आएको छ । काठमाडौँमा प्रत्येक १२ वर्षमा एकपटक स्वयम्भूको भुइख्यलमा र ललितपुरमा ५ वर्षमा एकपटक नागबहालमा सम्यक दान पर्व मनाइन्छ । भक्तपुरमा भने प्रत्येक वर्ष माघे संक्रान्तिका दिन नियमित रुपमा पर्व मनाइन्छ ।

भक्तपुरमा सम्यक भोजन दान पर्व नेपाल संवत् ७८७ मा भक्तपुर चतुर्ब्रम्ह महाविहारका बज्राचार्य जयरत्नले शुरु गर्नुभएको थियो । सम्यक दान आयोजना गरिएको भक्तपुर इटाछेँस्थित थथुबही (जयकीर्ति महाविहार) त्यस समयमा जीर्ण भएकाले जयरत्नले जीर्णोद्वार गरेको इतिहासमा उल्लेख छ । जयरत्नले सम्यक दान पर्व नियमित रुपमा प्रत्येक वर्ष आयोजना गर्न करीव ३६० रोपनी जग्गाको आयस्ता व्यवस्था गरेका थिए । जयरत्नपछि उहाँका छोराहरु जयमुनि, जयधर्म, जयचन्द्र र नाति पूर्णराजले भव्य रुपमा सम्यक दान पर्व आयोजना गरी सुवर्ण दीपंकर स्थापना गरेका थिए ।

नेसं १०४४ सालमा भक्तपुर क्वाठण्डौ विश्वकर्माछेँ टोलका शाक्यभिक्षु जुजुरत्नले ऐच्छिक सम्यक दान आयोजना गर्दा भक्तपुरका प्रमुख पाँच दीपंकरहरु, सुवर्ण देवतासहित लोकेश्वर, स्वयम्भू तथागत, साँखुको बज्रजोगिनी, नमोबुद्ध, जनबहाः द्यः, बनेपा, पनौती, श्रीखण्डपुरु, नाला, सांगा, थिमिमा रहेका दीपंकर तथागतहरु समेत उपस्थित भएको ऐतिहासिक तथ्य रहेको भक्तपुर सम्यक महादान व्यवस्थापन समितिका देवचन्द्र बज्राचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.