खड्गजात्रा आगामी वर्षमा पनि निरन्तरता
ललितपुर, २५ पुस : गतवर्ष मनाइएको खड्गजात्रा आगामी वर्षमा पनि निरन्तरता दिइने भएको छ । ललितपुर महानगरपालिका, ललितपुर उद्योग वाणिज्य सङ्घ र गुठी संस्थान ललितपुर शाखा आगामी वर्ष पनि जात्रा सञ्चालन कसरी गर्ने भन्ने छलफल शुरु भएको छ ।
अवको केही वर्षसम्म सबै निकायले मिलेर जात्रा सञ्चालन गर्ने र त्यसपछि अक्षयकोषको स्थापना गर्ने योजना बनाइएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनले बताउनुभयो ।
गतवर्ष महानगरपालिका र सङ्घ दुबैले रु दुई लाख ७५/दुई लाख ७५ हजार लाख हालेका थिए । केही वर्षसम्म सहकार्यमा चलाउने र त्यसपछि अक्षयकोषको स्थापना गर्ने योजना बनाइएको छ । उहाँले भन्नुभयो, “सबै मिलेर लाग्दा मात्रै यो जात्राले निरन्तरता पाउन सक्छ ।”
खड्गजात्रा पाटनको महत्वपूर्ण जात्रामध्ये एक मानिन्थ्यो । आर्थिक अभावलगायतका समस्याका कारण यो जात्रा २४ वर्षसम्म सञ्चालन हुन सकेको थिएन । प्रत्येक वर्ष दशैँका समयमा यो जात्रा सञ्चालन हुने अध्यक्ष महर्जनले बताउनुभयो ।
महानगरपाकिाका प्रमुख चिरीबाबु महर्जनले अक्षयकोषका लागि बढी रकम महानगरपालिकाले हाल्ने बताउनुभएको छ । त्यसमा उद्योग वाणिज्य सङ्घ र अरु सङ्घसंस्थालाई समेत समावेश गर्ने योजना छ । जात्रालाई दीर्घकालीन रुपमा सञ्चालनका लागि आर्थिक स्रोतसहित समिति बनाउने समेत योजना रहेको छ । जात्राका लागि गुठी संस्थानले खान्ची रकमको समेत व्यवस्था गरेको छ ।
