बौद्ध अनुयायीद्वारा शान्ति र भ्रातृत्वको प्रण

काठमाडौँ, २४ पुस : बौद्ध फूलबारीस्थित शेचेन शेडूप लिङ्ग शाक्या थारिग गुम्बामा करीब एक हजार ५०० स्वदेशी तथा विदेशीले सामूहिक रुपमा बुद्ध दर्शन र साहित्यका माध्यमबाट समाजमा शान्ति र भ्रातृत्व फैलाउने प्रण गर्नुभएको छ ।

उक्त गुम्बाको स्वर्णाेत्सवका अवसरमा आज आयोजित कार्यक्रममा नेपाल, भुटान, ताइवान, सिङ्गापुर र मलेसियाका बौद्ध अनुयायीले संसारमा रहेका प्राणीजगत्प्रति कल्याण भावना कायम गर्ने प्रतिबद्धता जनाउनुभयो । विसं २०२५ असारमा छैटौँ अवतारी ठरिग रिम्पोछे जाम्याङ्ग डाम्चोय निम्याले समाजमा बौद्ध साहित्यलाई प्रवद्र्धन गरी अहिंसाको सन्देश प्रवाह गर्न स्थापाना गरेको उक्त गुम्बामा आज अन्तर्राष्ट्रिय बौद्ध गुरु ४२औँ रिम्पोछे शाक्या ट्रिजिन रत्नबज्र रिम्पोछेले भक्तजनलाई सत्मार्गमा अभिप्रेरित हुन दीक्षा दिनुभएको थियो ।

समानता, सद्भाव तथा मैत्रीमा आधारित बुद्धधर्मको ग्रहणबाट विश्वमा शान्ति हासिल हुने बताउँदै गुरुले सबै प्राणीप्रति समभाव राख्नुपर्नेमा जोड दिनुभयो । बौद्ध साहित्यमा ध्यान, जप, तप, साधनाजस्ता विषयलाई अभ्यास गरी चञ्चल मनलाई नियन्त्रणमा राख्न सकिने विश्वास छ ।

बौद्ध साहित्य अनिश्वरवादी दर्शनमा आधारित छ । बुद्ध भन्नाले सम्पूर्ण ज्ञानलाई ग्रहण गरी अन्तिम सत्यको नजीक रहेका असाधारण मानवका रुपमा लिइएको छ । जो कोही व्यक्तिसँग पनि बुद्धत्व प्राप्त गर्ने विशेषता हुन्छ, उनीहरुसँग प्राणीहरूको दुःख निरोध गर्न सक्ने क्षमता विकास हुँदै जान्छ । शाक्यमुनि बुद्धले प्रतिपादन गरेको यो दर्शन बुद्धको समयपछि थेरवाद, महायान र वज्रयानका रुपमा विकास भएको पाइन्छ ।

महायान परम्परामा गुरु पद्म सम्भवलाई दोस्रो बुद्धका रुपमा लिइएको छ । सोही परम्पराअन्तर्गत निङ्मा, काग्यु, शाक्य र गेलुक गरी चार सम्प्रदाय हुन्छ । यी चार सम्प्रदाय साताँै शताब्दीदेखि नवौँ शताब्दीको अन्त्यसम्म विकास भएको बौद्ध विद्वान् टीका शेर्पाले जानकारी दिनुभयो । उक्त गुम्बामा शाक्य सम्प्रदायको अभ्यास गरिन्छ जसअन्तर्गत बौद्ध साहित्यमा रहेका सूत्रलाई सूक्ष्म रुपमा अध्ययन गरिन्छ ।

प्रदेशसभा सदस्य छिङ दोर्जेले सिद्धार्थ गौतम बुद्ध जन्मस्थल नेपालमा बौद्ध धर्मको पञ्चशील तथा अष्टशीलको विशेष महत्व रहेको बताउँदै यसलाई सबैले ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो । गुम्बामा हाल कर्मकाण्ड, अङ्ग्रेजी– नेपाली– चिनियाँ भाषा, गणित, कम्प्युटरसहित १० विषयमा अध्ययनअध्यापन हुन्छन् । यहाँ धेरै लामाहरु अध्ययन, ध्यान, साधना तथा पूजापाठ गर्छन् । ‘ला’ को अर्थ भगवान् तथा ‘मा’ को अर्थ आमा हो । यसरी लामाहरु आफूहरुलाई भगवान्स्वरुप आमाका रुपमा लिने गर्छन् ।

गुम्बा व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र गुरुङले नेपालमाचार हजारभन्दा बढी गुम्बा रहेको र गोरखा भूकम्पबाट एक हजार ३२० गुम्बा क्षतिग्रस्त भएको जानकारी दिँदै ती गुम्बा अहिले पनि पुनःनिर्माण हुन नसकेको उल्लेख गर्नुभयो ।

सो गुम्बामा विश्व शान्ति तथा सुखका लागि सोमबारदेखि बुद्ध पूजा तथा धार्मिक प्रवचन गरिएको थियो । नेपालकी चेली भृकुटीको विवाह तिब्बतका राजा स्रङचोङ गम्पोसँग भएको थियो । कलाकार अरनिको तथा कालिगढले तिब्बतमा एक हजारभन्दा बढी बौद्ध मठमन्दिर निर्माण गर्नुभएको थियो । यसरी नेपालबाट भारत, तिब्बत हुँदै एशियामा बौद्ध दर्शनको महत्व र प्रभाव फैलिएको इतिहास पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.