राउटे बस्तीमा ‘सहभोज’, न्यानो लुगा वितरण

राउटे समुदायको सामाजिकीकरण अभियान अन्तर्गत गरिएको सहभोजमा सहभागी हुँदै राउटेहरु । तस्बिर: हिक्मतबहादुर नेपाली, दुल्लु (दैलेख)

दुल्लु, २२ पुस : राउटे समुदायको सामाजिकीकरण अभियानअन्तर्गत राउटे बस्तीमा सहभोज गरिएको छ ।

सुर्खेतको लेकबेसी नगरपालिका– १ लेकफर्सा रातेखोलास्थित राउटे बस्तीमा सहभोज गरिएको हो । प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विभिन्न जङ्गलमा बस्दै आएको राउटे समुदायको सामाजिकीकरण अभियानका क्रममा सहभोज गरिएको हो ।

रातेखोलामा बसोबास गर्दै आएका फिरन्ते राउटे कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखलगायत लोपोन्मुख राउटे सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालको समन्वय र सहकार्यमा आइतबार आयोजित राउटे समुदायको सामाजिकीकरण अभियान अन्तर्गत गरिएको सहभोजमा सहभागी हुँदै राउटेहरुलाई गराइएको हो

सहभोजमा राउटेसँगै अन्य समुदायका बासिन्दा सहभागी थिए । राउटको सीप र संस्कृति संरक्षणसहितको सामाजिकीकरण गर्न प्रदेश सरकारले अभियान थालेको मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीले जानकारी दिनुभयो । “राउटे बस्तीमा स्वास्थ्य शिविरसमेत सञ्चालन गरेका छौँ,” उहाँले भन्नुभयो ।

चिसो बढेपछि राउटे बालबालिका र वृद्धवृद्धामा विभिन्न समस्या देखिएको स्वास्थ्य परीक्षणमा संलग्न कर्णाली प्रदेश अस्पतालका मेडिकल अधिकृत डा लोकेन्द्र थापाले बताउनुभयो । बस्तीमा हरेक साता विशेषज्ञ चिकित्सकले राउटेको स्वास्थ्य परीक्षण गर्ने उहाँले जानकारी दिनुभयो । मन्त्रालयले राउटे बस्तीमा तीन सोलारसमेत जडान गरेको छ । उनीहरुलाई न्यानो लुगा पनि वितरण गरिएको छ ।

यसैबीच दैलेखको गुराँस गाउँपालिकाले राउटे बस्तीमा पुगेर पुस महिनाको भत्ता वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष खेमराज ओलीका अनुसार समुदायका एक सय ४५ जनालाई रु दुई हजारका दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । राउटेलाई सामाजिक मूल प्रवाहीकरणमा ल्याउन अभियान थालिएको मन्त्रालयका सचिव डा मानबहादुर विकले बताउनुभयो । उक्त अभियान बेसी नगरपालिका, गुराँस गाउँपालिका, सामाजिक सेवा केन्द्र (सोसेक) दैलेख र लोपोन्मुख राउटे सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालको समन्वय र सहकार्यमा गरिएको हो ।

राउटे समुदायका समस्याहरु राख्दै राउटेका मुखिया सूर्यनारायण शाही ।
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.