सडकमा रात बिताउन बाध्य चारको उद्धार
काठमाडौँ, २२ पुस : मानवसेवा आश्रम काठमाडौँले सडकमा रात बिताउन बाध्य चार जनाको उद्धार गरेको छ ।
सडकमा जीवन गुजार्न बाध्य भएकाहरूको अवस्था अध्ययन गर्न थालेको आश्रमले शनिबार राति काठमाडौँको गोङ्गबु, माछापोखरी, बालाजु, वसन्तपुर, नरदेवी, सोह्रखुट्टे, डल्लु, कालीमाटी, स्वयम्भू, महाँकाल, रत्नपार्क, जमल क्षेत्रमा स्थलगत अध्ययन गरेको थियो । सो क्रममा सडकमा रहेकामध्ये बेसहारा तथा असहाय चार जनालाई राति नै उद्धार गरिएको मानवसेवा आश्रम प्रदेश नं ३ का संयोजक सुमन बर्ताैलाले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा आश्रमले काठमाडौँमा असहायहरूलाई सेवा दिँदै आएको छ ।
नरदेवीबाट अन्दाजी ५५ वर्षीय टलकबहादुर मगर, कालीमाटीबाट पहिचान नखुलेका अन्दाजी ३० वर्षीय मनोरोगी युवालाई उद्धार गरिएको र आज बिहान पशुपति मन्दिर क्षेत्रबाट पहिचान नखुलेको दुई जनाको उद्धार भएको आश्रमले जनाएको छ । अध्ययनका क्रममा सडकमा रहेका मध्ये दिनभर भारी बोक्ने, प्लास्टिक टिप्ने र श्रम गर्ने तथा माग्ने पेशा बनाई बसेकाहरू बढी भेटिएको आश्रमका संयोजक बर्ताैलाले जानकारी दिनुभयो । आश्रमसँगको सहकार्यमा पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरलाई २०७४ साल चैत २० गते सहयोगापेक्षीरहित क्षेत्र घोषणा गरेको थियो ।
उक्त घोषणा कार्यान्वयनका लागि आश्रम र विकास कोषले नियमित अनुगमन गर्दै आइरहेका छन् । माग्ने पेशा गरेर बस्नेहरूलाई निरुत्साहित गर्दै वास्तविक सहयोगापेक्षीहरूको उद्धार गरी आश्रमले संरक्षण दिँदै आइरहेको छ । करीब ३०० बढी सडक मानवहरू रहेको पशुपति क्षेत्रमा अहिले सहयोगापेक्षीहरू नरहेको जनाइएको छ । दिनभर श्रम गरेर राति नशा र लागुऔषधका कारण लठ्ठिएर सडकमा हिँड्नेहरू सामाजिक सुरक्षाको हिसाबले समेत चुनौती बन्दै गइरहेको अध्ययनमा पाइएको आश्रमले जनाएको छ । पशुपति क्षेत्रलाई जस्तै सहयोगापेक्षी सडक मानवमुक्त महानगरका रूपमा विकास गरी सडकपेटीमै सुत्ने प्रचलनको अन्त्य गरेमा मात्र समस्याको समाधान हुने बर्तौलाको भनाइ छ ।
आश्रमले विसं २०५९ देखि सडकमा मागेरसमेत खान नसक्ने असहाय तथा मनोरोगीको उद्धार गरी उपचार र परामर्श सेवा दिँदै परिवारको पहिचान गरेर पुनःस्थापनको काम गर्दै आएको छ । अहिलेसम्म आश्रमले झण्डै एक हजार ७०० को उद्धार गरेकामा करीब ५०० जनाको परिवार पत्ता लगाई पुनःस्थापन गरिसकेको आश्रमका संयोजक रामजी अधिकारीले बताउनुभयो । अहिले आश्रमले ६ वटा प्रदेशका १२ जिल्लामा १४ शाखाबाट सेवा दिँदै आएको र प्रदेश नं १ मा पनि आश्रम सञ्चालनको तयारी गरेको जनाइएको ।
