हत्याका आरोपी तीनजना सार्वजनिक

बर्दिवास, २८ मङ्सिर : गत बुधबार मृत भेटिएका महोत्तरीको औरही नगरपालिका–२ फुलबरियाका बेचु महतोको हत्या गरेको अभियोगमा पक्राउ परेका तीनजनालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।

घटनामा संलग्न रहेको अभियोगमा पक्राउ गरिएका एक महिलासहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले आज अपराह्न सार्वजनिक गरेको हो । प्रहरीले यस घटनामा औरही नगरपालिका–२ फूलबरियाकै २२ वर्षीय जितनी देवी महतो, २४ वर्र्षीय सुशील सहनी र औरही नगरपलिकाकै चेपकट बस्तीका २४ वर्षीय अनिलकुमार ठाकुरलाई पक्राउपछि सार्वजनिक गरेको हो ।

पक्राउ परेका महिला र पुरुषबीचको अवैध सम्बन्ध देखेका बेचुलाई आफूहरुको सम्बन्ध बाहिर सार्वजनिक गरिदिने भयले तीनै जनाले बेचुको हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।

मङ्गलबार राति हराएका बेचु महतो बुधबार बिहान आफ्नै बस्ती नजिकको उखुबारीमा मृत फेला परेका थिए । पक्राउ परेका तीनैजनाले अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.