राजधानी मै ठूलो परिमाणमा अवैध मदिरा फेला पर्यो
काठमाडौँ, २७ मङ्सिर : महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले काठमाडौँ महानगरपालिका–३१ शान्तिनगर बागमती खोला किनारको सुकुम्वासी बस्तीमा छापा मारी ठूलो परिमाणमा अवैध मदिरा फेला पारेको छ ।
प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेको नेतृत्वमा गएको प्रहरी टोलीले रु तीन लाखभन्दा बढी मूल्य बराबरका चार हजार लिटर अवैध घरेलु मदिरा (रक्सी, जाँड र तोङ्गवा) बरामद गरिएको छ । सो क्रममा मदिरा बनाइराखेको अवस्थामा चार महिलालाई पक्राउ गरेको वृतले जनाएको छ । उनीहरुले अवैध मदिरा तयार गरी विभिन्न भट्टी पसल र होटेलहरुमा लगेर बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ ।
पछिल्लो समयमा सुकुम्बासी टोलमा झैझगडा, हत्या, हिंसाका घटना बढ्नु र अन्यत्र ठाउँमा चोरी र अपराध गरेपछि लुक्ने ठाउँको रुपमा सुकुम्वासी टोल मुछिन थालेको पाइएको छ ।
निगरानी बढाउने क्रममा प्रहरीले शान्तिनगर सुुकुम्बासी टोलबाट ठूलो परिणाममा अवैध मदिरा, मदिरा बनाउने कच्चा पदार्थ र मदिरा बनाउन प्रयोग हुने भाडाकुडा बरामद गरेको थियो ।
बरामद गरिएको अवैध घरेलु मदिरा बागमती नदीको किनारमा एक्साभेटरले खाल्डो खनेर आज साँझ प्रहरी नायब उपरीक्षक काफ्लेका साथै स्थानीय अधिवक्ता गणेश केसी, मनोहरा सम्पदा समाजका अध्यक्ष पद्मकुमार रेग्मी, स्थानीय पत्रकार र ३१ नं वडाका जनप्रतिनिधिको रोहवरमा नष्ट गरियो ।
अवैध मदिरा बनाउने कार्यमा सङ्लग्न ४ महिलालाई आज एक रात थुनामा राखी आइन्दा यस्तो कार्य पुनः नगर्ने कागज गराएर छाडिने पनि प्रहरी नायब उपरीक्षक काफ्लेले बताउनुभयो ।
