शान्तिको सन्देश दिन अन्तर्राष्ट्रिय सम्मेलन
काठमाडौँ, ८ मङ्सिर : प्रत्येक मानिसको भावनात्मक संवेगलाई शान्तिमा ल्याउने प्रयासमा सबै लाग्नुपर्ने कार्यक्रमका सहभागीले सुझाव दिनु भएको छ ।
ललितपुरमा क्रोधरहित संसार र ग्लोबल पिसले आयोजना गरेको विश्व शान्तिका लागि व्यक्तिको व्यवहार र भावनात्मक परिवर्तन गर्दै मानव संशाधनको विकास गर्नका लागि भएको ‘आठौँ अन्तराष्ट्रिय सम्मेलन’ मा सहभागीले विश्वमा शान्ति कायम गर्नका लागि प्रत्येक मानिसको भावनात्मक संवेगलाई शान्तिमा ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।
सम्मेलनमा भारतस्थित प्यासिफिक एकेडमी अफ हाइएर एजुकेशन एण्ड रिसर्च विश्वविद्यालय उदाइपुरका व्यवस्थापन सङ्कायका डिन प्रा डा महिमा विर्लाले प्रत्येक मानिसको व्यवहारमा शान्ति भएमात्र विश्वमा शान्ति कायम गर्न सकिने बताउनुभयो । उहाँले शान्ति कायम गर्नका लागि संवेगात्मक शिक्षा आवश्यक भएको छ भन्नुभयो ।
उहाँले देशको आर्थिक विकास पनि शान्ति नभई नहुने भएकाले शान्ति र विकासलाई समेत सँगसँगै लैजानु पर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा मलेसिया विश्वविद्यालयकी शिक्षा सङ्कायको प्रोजेक्ट डाइरेक्टर प्रा डा साध सिराजले व्यक्तिगत रूपमा भित्रैबाट मानिसको आत्ममा शान्ति भए मात्र विश्वशान्ति हुने बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा तुलसीराम वैद्यले मानिसमा भएको व्यवहार र आत्मालाई नियन्त्रणमा राख्दै विश्वभर नै मानिसलाई शान्तिमा ल्याउन सकिने बताउनुभयो । प्रा डा शिशिर सुब्बाले शान्ति कायम गर्नका लागि मानिसको मानवीय व्यवहारमा परिवर्तन ल्याउन आवश्यक रहेको बताउनुभयो ।
आयोजक संस्था क्रोधरहित संसारका अध्यक्ष देशमर्दन वस्नेतले सम्मेलनले मानिसलाई कसरी आफूभित्रको चिन्तन हटाइ शान्तिपूर्वक बस्न सकिन्छ भन्ने सन्देश दिएको बताउनुभयो ।
सम्मेलन संयोजक मुकुन्दराज खनालले मानिसको आत्मालाई नियन्त्रण गरी शान्ति कायम गर्नका लागि सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । एकदिने सम्मेलनमा नेपालसहित विश्वका भारत, अमेरिका, मलेसिया, इथोपिया, अष्ट्रेलिया, बेलायत, अष्ट्रिया, थाइल्याण्ड र इजिष्टबाट मनोवैज्ञानिकहरुले विश्वमा शान्ति कायम गर्नका लागि व्यक्तिमा कसरी शान्ति ल्याउने भन्नेबारे अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गरेका छन् ।
सम्मेलनमा मनोवैज्ञानिक तथा मानसिक स्वास्थ्य, बुद्ध, धर्म र संस्कृति, शान्ति शिक्षा, भावनात्मक साक्षरतालगायत ५७ वटा कार्यपत्र प्रस्तुत गरिएका छन् । सम्मेलनमा क्रोधरहित समाज स्थापना गर्न भूमिका निर्वाह गरेका बेलायतका वरिष्ठ मनोवैज्ञानिक डा एन्टिगोनस सोकसलाई रु २५ हजार राशि रहेको ‘द डिन अफ पिस’ पुरस्कार प्रदान गरिएको छ । विसं २०६४ बाट हरेक वर्ष नेपालमा उक्त सम्मेलन हँुदै आएको छ ।
