यमनमा द्वन्द्वरत पक्षलाई होडैडामा शान्ति कायम गर्न राष्ट्रसङ्घको आग्रह
होडैडा, यमन, ७ मङ्सिर : यमनमा द्वन्द्वरत पक्षलाई यमनको महत्वपूर्ण बन्दरगाह शहर होडैडामा ‘शान्ति कायम गर्न’ शुक्रबार यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिनिधि मार्टिन ग्रिफिथ्सले आग्रह गर्नुभएको छ ।
विश्वको ध्यान केन्द्रित भएको यमनको बन्दगाह शहर होडैडाको पहिलो भ्रमणपछि ग्रिफिथ्सले जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ । “विश्वका प्राय सवै मुलुकका नेताहरूले राष्ट्रसङ्घलाई होडैडामा शान्ति कायम गर्न अनुरोध गरेका छन्,” उहाँले भन्नुभयो ।
यमनको शान्तिका लागि तय गरिएको शान्तिवार्ताको आधार तयार गर्न राष्ट्रसङ्घका विशेष प्रतिनिधि त्यहाँ पुग्नुभएको हो । यमनमा इरान निकट मानिने हुथी विद्रोही र साउदी अरब नेतृत्वको सरकार पक्षधर समूहबीच सन् २०१५ को मार्चमा शुरू भएको द्वन्द्वमा परी कम्तीमा १० हजार नागरिकको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । तर यहाँ कार्यरत मानव अधिकार समूहले भने यमनी युद्धमा परी ज्यान गुमाउने नागरिकको सङ्ख्या छ गुणा बढी भएको जनाएका छन् ।
संयुक्त राष्ट्रसङ्घले यमन द्वन्द्वको प्रभाबका कारण यहाँका बालबालिका नराम्रोसँग प्रभावित बनेको जनाएको छ । बिहीबारको समाचारमा यमनमा करिब ८५ हजार बालबालिकाले चरम भोकमरीको समस्या झेलेको बताइएको थियो ।
