सरकार वार्तामा बस्न तयार : यमनी अधिकारी

दुबई, ३ मङ्सिर : यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले वार्तामा बस्न तयार रहेको सोमबार घोषणा गरेको छ ।

संयुक्त राष्ट्रसंघका प्रतिनिधि मार्टिन ग्रिफिथलाई हुथी विद्रोहीसँगको वार्तामा सहभागी हुने खबर सरकारी पक्षले पठाइएको हो । मुलुकमा शान्ति स्थापनाका लागि आफुहरु वार्तामा बस्न तयार भएको सरकारी अधिकारीहरूको भनाइ रहेको छ ।

राष्ट्रसंघीय प्रतिनिधि ग्रिफिथले स्वीडेनमा वार्ता गर्ने पहल गर्दै आउनु भएको छ । उहाँको पहल अनुसार अव सरकारी पक्षले वार्ता टोली स्वीडेन पठाउने भएको छ । “वार्तामा सहभागी हुनेबारेमा हामीले राष्ट्रसंघीय प्रतिनिधिलाई जानकारी गराएका छौँ, अव सरकारका प्रतिनिधिहरु वार्ताका लागि स्वीडन जानुहुनेछ,” विदेश मन्त्रालयले भनेको छ ।
अहिलेको राजनीतिक संकट समाधान गरी मुलुकमा शान्ति स्थापनाका लागि वार्तामा सहभागी हुन लागेको विदेश मन्त्रालयलाई उद्धृत गर्दै साबा समाचार संस्थाले जनाएको छ ।

हुथी विद्रोही र यमन सरकारबीच शान्तिवार्ता गराउन आवश्यक तयारी गरी वातावरण बनाउन राष्ट्रसंघीय प्रतिनिधि ग्रिफिथ केही दिनमै यमनको राजधानी जानुहुने अपेक्षा गरिएको छ । उहाँले यमनको भ्रमण गर्न लागेको पूर्वसन्ध्यामा यसअघि हुथी विद्रोहीले विभिन्न आक्रमणहरु रोक्ने घोषणा गरेको छ ।

यमनमा सङ्घर्षरत हुथी विद्रोही समूहका एकजना उच्च नेताले यमनमा क्षेप्यास्त्र आक्रमण र ड्रोनबाट हुने आक्रमण स्थगित गर्ने घोषणा गरेका हुन् ।

सर्वोच्च क्रान्तिकारी समितिका प्रमुख मोहम्मद अलि अल–हुथीले ट्वीट गरी सबै आधिकारिक यमनी राजनीतिक दलहरूलाई युद्धविराम गर्न आग्रह गर्नुभएको थियो ।

“हामी यमनका सबै आधिकारिक दलहरूलाई अतिक्रमणकारी देशविरुद्ध र उनीहरूका यमनी समर्थकमाथि रकेट आक्रमण र ड्रोनको प्रयोग रोक्न आग्रह गर्दछौं ताकि उनीहरुले हामीमाथि आक्रमणको कुनै आधार पाउने छैनन् । शान्ति स्थापनाको तत्परता प्रस्तुत गर्न सबै मोर्चामा सैनिक आक्रमण रोक्न पनि आग्रह गर्दछौं,” उहाँले लेख्नुभएको छ ।

राष्ट्रसंघका विशेषदूत ग्रिफिथले शुक्रबार मात्र अर्को साता विद्रोहीको नियन्त्रणमा रहेको सानाको भ्रमण गर्ने जानकारीमा आएलगत्तै हुथी नेताको युद्धविराम गर्ने घोषणा सार्वजनिक भएको हो ।

सेप्टेम्बरमा पनि स्वीडेनमा शान्तिवार्ता गर्ने तय भएपनि अन्तिममा विद्रोही हुथी समूहले सुरक्षाको कारण देखाएका कारण वार्ता स्थगित भएको थियो ।

ग्रिफिथले भन्नुभयो “हुथी विद्रोही र साउदी–समर्थित यमन सरकार दुवैले राजनीतिक समाधानप्रति प्रतिवद्धता दोहो¥याएकाले वार्ता हुन लागेको हो । दुवै पक्षले वार्तामा उपस्थित हुने बताएका छन् । तैपनि वार्ताको मिति भने तय गरिएको छैन ।”

अलि अल–हुथीले राष्ट्रसंघका विशेषदूतसँगको सम्पर्क पश्चात क्षेप्यास्त्र र ड्रोन आक्रमणका साथै अन्य आक्रमणका सम्पूर्ण क्रियाकलाप रोकिएको बताउनुभयो ।

यमन गृहयुद्धका कारण त्यहाँ हजारौं मानिसको मृत्यु भइसकेको छ । सम्पूर्ण आर्थिक तथा मानवीय सहायताका सामग्री यमन भित्रिने लाल सागरको तटीय सहर होडेडामा गत साता पनि भीषण लडाइँ भएको थियो ।

विद्रोहीले राजधानी साना र होडेडालाई सन् २०१४ मा नियन्त्रण गरेका थिए । अर्को वर्ष सरकारका पक्षबाट साउदी अरेबिया र यसका गठबन्धन मुलुकले सानामा हुथी विरुद्ध भीषण हमला गरेका थिए ।

विश्व स्वास्थ्य संगठनका अनुसार, त्यसयता मात्र १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । तर अधिकारकर्मीहरुले भने गृहयुद्धबाट मारिने व्यक्तिको सङ्ख्या यसको पाँच गुणा बढी दावी गरेका छन् । राष्ट्रसंघले यमनको द्वन्द्वलाई अत्यन्त निकृष्ट रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.