अफगानिस्तानमा १८ लडाकू मारिए
काबुल, १८ कात्तिक : अफगानिस्तानमा भएको पछिल्लो घटनामा परी कम्तीमा १८ जना लडाकू मारिएका छन् ।
पूर्वी प्रान्त नान्गरहरमा भएको घटनामा परी मारिनेमा सबैजना इस्लामिक स्टेट (आइएस)का लडाकूहरु भएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।
अफगान रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ, “अफगान सेनाले चलाएको हवाई आक्रमणमा परी नाज्यान जिल्लामा शनिबार उनीहरुको मृत्यु भएको हो ।”
विज्ञप्तीमा घटनाका बारेमा विस्तृत विवरण दिइएको छैन । घटनामा सर्वसाधारण पनि मारिएको वा धनमालको नोक्सानी भएको बारे कुनै जानकारी प्राप्त भएको छैन । घटनाका बारेमा आइएसले कुनै प्रतिक्रिया जनाएको छैन ।
पहाडी क्षेत्रमा पर्ने सो स्थान राजधानी काबुलदेखि १२० किलोमिटर पूर्वमा पर्दछ । त्यस क्षेत्रमा आइएस लडाकूहरु र सुरक्षाकर्मीबीच बेलाबेलामा भइरहने भिडन्तका कारण हजारौं स्थानीयबासी पलायन हुन बाध्य भएका छन् ।
काबुलमा अमेरिकी सैनिकको हत्या : नेटो
आन्तरिक हमलामा परी शनिबार एकजना अमेरिकी सैनिकको मृत्यु भएको भने अर्का एकजना घाइते भएको नेटोले जनाएको छ ।
तीन हप्ताभित्रको अवधिमा भएको यो आक्रमणको कसैले जिम्मेवारी लिएको छैन । युद्धग्रस्त अफगानिस्तानको सेनालाई हाल तालिम र परामर्श सेवा उपलब्ध गराउन तैनाथ विदेशी सैनिकमाथि अफगानी सैनिकबाटै आक्रमण हुने गरेको छ ।
पश्चिमी प्रान्त हेरातमा गत अक्टोबर २२ तारिखका दिन र दक्षिणी प्रान्त कान्दाहारमा अक्टोबर १८ तारिखका दिन भएका आक्रमणहरुको जिम्मेवारी तालिबानले लिएको छ ।
कान्दाहारमा भएको आक्रमणमा अफगानिस्तानका लागि अमेरिकी सैनिक प्रमुख तथा नेटो कमान्डर जनरल स्कट मिलर भाग्यले बाँचेका थिए ।
प्रारम्भिक अध्ययनमा आक्रमणकारी अफगानी सैनिक रहेको पहिचान भएको छ, नेटोको विज्ञप्तीमा भनिएको छ । उक्त घटनामा आक्रमणकारी पनि मारिएका छन् ।
पछिल्लो घटना समेत अफगानिस्तानमा यसै वर्ष आन्तरिक आक्रमणमा मारिने सेनाको संख्या आठजना पुगेको छ ।
