राष्ट्रपतिद्वारा विभिन्न शक्तिपिठहरुको दर्शन
काभ्रेपलाञ्चोक, ३१ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको अवसरमा महाअष्टमीका दिन आज बिहान पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गर्नुभएको छ ।
काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उहाँले जेठी छोरी उषाकिरण भण्डारीकासाथ करिब १५ मिनेट पूजाअर्चना गर्नुभएको हो । उहाँ विहान ९ः३५ बजे भगवती मन्दिर पुग्नुभएको थियो । राष्ट्रपति भएपछि उहाँले यस मन्दिरमा पूजाअर्चना गर्नुभएको यो दोस्रोपटक हो । उहाँसँगै नागरिक उड्ययन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारी पनि सहभागी हुनुहुन्थ्यो ।
राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समितिका संयोजक उद्धव केसी, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, नेपाली सेनाको २६ नंबर बाहिनीपति मिनध्वज खड्का, नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जू, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल तथा अन्य पदाधिकारीले स्वागत गर्नुभएको थियो ।
सो अवसरमा मन्दिर व्यबस्थापन समितिका अध्यक्षसमेत रहनुभएका प्रजिअ राउतले मन्दिरको संरक्षण र पुनःनिर्माण सम्पन्न गर्न स्थानीयबाट आएका मागलाई राष्ट्रपति भण्डारीलाई जानकारी गराउनुभयो ।
राष्ट्रपति भण्डारीले ‘यस विषयमा म सरकारसँग कुरा गर्छु’ भन्नुभयो । मन्दिर पुनःनिर्माण गर्न पुरातत्व विभागले रु दुई करोड ५२ लाख रुपैयाँ छुट्याएको छ ।
महाअष्टमीको शुभदिन आज राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवीमन्दिरहरूमा पूजाअर्चना गर्नुभयो ।
राष्ट्रपति भण्डारीले गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगती, शोभा भगवती, विजेश्वरी, नरदेवी, सङ्कटा भगवतीको श्रद्धाभक्तिपूर्वक पूजा आराधना गर्नुभयो । उहाँले सम्बन्धित मन्दिरका पूजारीबाट फूलप्रसाद एवम् टीका ग्रहण गर्नुभयो ।
आजै बिहान उहाँले काभ्रेको पलाञ्चोक भगवतीको दर्शन एवम् पूजा अर्चना गर्नुभएको थियो । महाअष्टमीका दिन शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती र देवी भगवतीको पूजाआराधना गर्नाले सुख, शान्ति र आरोग्य मिल्ने धार्मिक विश्वास छ ।
