शान्ति सम्झौतापछि इरिट्रिआबाट हजारौं पलायन

क्रिस स्टेन । जालामबेस्सा, इथिओपिया, २७ असोज : तीन वर्षदेखि त्रास र गरिबीमा बाँचेकी नेब्याट जेरियालाई आफ्नो देश इरिट्रियाबाट पलायन हुन अति कठिन भइरहेको थियो । उहाँ जर्मनी पलायन भएका आफ्ना श्रीमान्लाई भेट्न व्यग्र हुनुहुन्थ्यो । गत महिना इथिओपियाले सीमानाका पुनः खोलेपछि एकाएक परिस्थितिले कोल्टे फे¥यो ।

यसै वर्षको शुरुमा परस्पर लडेका इथिओपिया र इरिट्रिआबीच शान्ति प्रक्रिया शुरु भएसँगै दुई मुलुकबीच हवाई उडान शुरु भएको छ र राजदूतावासहरु खुलेका छन् । दुई देशको सीमा सेप्टेम्बरमा खुलेपछि इरिट्रियालीमा खुशीको कुनै सीमा छैन ।

त्यसयता, संयुक्त राष्ट्रसङ्घका अनुसार इथिओपियामा आश्रय लिएका इरिट्रिआलीसँगको भेटघाटको दर नाटकीय रुपमा बढेको छ । सीमा वारपार गर्नेहरुलाई विगतमा पक्राउ गरिन्थ्यो तर अहिले उनीहरुको नाम मात्र टिपोट गरिन्छ ।

“मुलुक छाड्ने अहिले यो राम्रो मौका हो, त्यसैको फाइदा मैले पनि लिएको हुँ,” इथिओपियाको सीमावर्ती सहर जालामबेस्सामा तीन छोरीसहित आइपुगेकी नेब्याटले बताउनुभयो । उहाँका तीनजना छोरी छ वर्षमुनिका छन् ।
शरणार्थीको आगमन अहिले ह्वात्तै बढेको छ । यसअघि प्रतिदिन ५३ जना रहेकामा आजभोलि करिब ३९० जना पुगेको छ । सीमा खुलेयता करिब ६ हजार ७०० जना इरिट्रिआलीहरु इथिओपिया प्रवेश गरिसकेको राष्ट्रसङ्घीय शरणार्थी नियोगले जनाएको छ ।

इरिट्रिआका नागरिक अन्यत्र आप्रवासनमा जानु नयाँ कुरा भने होइन । हालैका वर्षमा कुख्यात दमनकारी सत्ता र आर्थिक रुपमा जर्जर अवस्थामा पुगेको इरिट्रिआबाट हजारौं मानिस अन्य मुलुकमा पलायन भइसकेका छन् । यीमध्ये अधिकांश मानिस मरुभूमिको अति जोखिमयुक्त यात्रा तय गरी भूमध्यसागर हुँदै युरोप प्रवेश गर्दछन् ।

इरिट्रिआले इथिओपियासँगको सम्बन्ध सामान्यीकरण गरेसँगै इरिट्रिआका राष्ट्रपति इसाइस आफवेर्कीले आप्रवासन नियन्त्रण गर्न नयाँ नीतिहरु ल्याउने घोषणा नै गर्नुभएको छ । यीमध्ये पहिलो हो, मुलुकको राष्ट्रिय सेवा कार्यक्रमको आरम्भ । यो कार्यक्रममार्फत न्यून ज्यालामा नागरिकलाई काम दिइने र विदेश यात्रामा रोक लगाइने छ ।

तर परिवर्तनका कुनै नयाँ योजना घोषणा अझै गरिएको छैन, र दुई मुलुकबीच शान्ति कायम गर्ने समझदारीसँगै इरिट्रिआलीहरुको आम पलायन अझ तीव्र भएको छ ।

“मलाई अरु मुलुक जान त्यति इच्छा छैन, तर अन्तिममा म बाध्य भएँ,” इरिट्रिआबाट जालामबेस्सा हालै आइपुगेका डानियल हाड्गुले बताउनुभयो । उहाँको लक्ष्य नै नेदरल्यान्ड्समा रहेकी बहिनीलाई भेट्नु हो ।

कुनै समय इथिओपियाको प्रान्तका रुपमा रहेको इरिट्रिआले रक्तपातपूर्ण, दशकौं लामो स्वतन्त्रता सङ्घर्ष पश्चात सन् १९९३ मा स्वतन्त्रता पाएको हो । तर सीमा विवाद चुलिएपछि सन् १९९८ देखि दुवै मुलुकबीच पुनः युद्ध शुरु भएको थियो ।

सन् २००० मा सशस्त्र लडाइँ रोकिए पनि सम्बन्धमा कुनै ठोस सुधार आएन । संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको सीमा नक्साङ्कनलाई इथिओपियाले अस्वीकार गरेपछि दुवै देशबीचको सीमा बन्द गरिएको थियो ।

सन् २००१ मा इरिट्रिआको राष्ट्रपतिमा चुनिएलगत्तै इसिआसले स्वतन्त्र प्रेस बन्द गरिदिए, विपक्षीहरुलाई मुद्दा समेत नलगाई जेलमा थुनिदिए र अनिश्चितकालीन राष्ट्रिय सेवा कार्यक्रममा सहभागी हुनुपर्ने नियम बनाए ।

यो कार्यक्रमलाई राष्ट्रसङ्घले “दासता” बराबरको कार्य भनी घोषणा गरेको थियो ।

इथिओपियाले आक्रमण गरेको अवस्थामा यस्तो नीति आवश्यक रहेको बताउने राष्ट्रपति इसिआसले व्यापार व्यवसायीलाई दुःख दिनुका साथै आफ्ना नागरिकलाई जबर्जस्ती विदेश लखेटेका थिए । “यहाँ केही गर्नु छैन, केही व्यवसाय छैन,” हालैमात्र जालामबेस्सा आइपुगेका दर्जनौं इरिट्रिआलीमध्ये १८ वर्षीया जमिला अब्देलाले बताउनुभयो । “म केही राम्रो जीवनको खोजीमा यहाँ आइपुगेकी हुँ ।”

इथिओपियाको प्रधानमन्त्रीमा अबिया अहमदले गत अप्रिलमा पदभार ग्रहण गरेपछि मात्र वर्षौंदेखि दुईदेशबीचको शीतयुद्ध समाप्तिको चरणमा प्रवेश गरेको हो । निर्वाचित भएलगत्तै उहाँले विवादित भूमि फिर्ता गर्ने घोषणा गर्नुभएको थियो ।

अबिया र इसाइसले जुलाईमा शान्ति सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो, र सेप्टेम्बरमा सीमानाका खोल्नका लागि दुवै नेताले जालामबेस्साको भ्रमण गर्नुभयो ।

उक्त समारोह लगत्तै धेरै इरिट्रिआली दुई देशलाई छुट्याउने सीमामा इथिओपिया प्रवेश गर्ने लालसा बोकेर भेला भएका थिए ।

विगतमा, इरिट्रिआली सेनाले नेब्याट जस्ता आप्रवासीलाई जबर्जस्ती फिर्ता लैजान्थे । नेब्याट स्वयंले विगतमा एक पटक सीमा पार गर्ने असम्भव प्रयास गर्नुभएको थियो । यसको विकल्प पनि थियो, तर त्यसका लागि मानव तस्करलाई रकम बुझाउनु पथ्र्यो । नेब्याटसँग तस्करलाई बुझाउने पैसा थिएन ।

आज, सीमामा टेन्टमा रहेका इरिट्रिआली सेनाले इथिओपिया प्रवेश गर्नेहरुको नाममात्र टिपोट गरिरहेका छन्, र नेब्याटले इथिओपियाको बसको टिकट मात्र खरिद गर्नु परेको थियो । नेब्याटका श्रीमान् जर्मनीमा आप्रवासीका रुपमा रहेका छन् ।

“हामी इरिट्रिआमा बाँच्न सक्दैनौं । हाम्रो यहाँ केही कमाइ छैन,” उहाँले बताउनुभयो ।

केही दिनअघि मात्र इरिट्रिआबाट नयाँ आएका मानिसहरु जालामबेस्साको सडकमा भेटिएका थिए । उनीहरुको पिठ्युँमा झोला थिए र स्थानीय अधिकारीलाई नाम लेखाउँदै थिए ।

“दिनहुँ, मानिसहरु यही बाटो हुँदै आउजाउ गरिरहेका छन्,” मदिरा पसल चलाएर बसेका ताइम लेमलेमले भन्नुभयो । इरिट्रिआली शरणार्थीको समूह ओहोरदोहोर वर्षौंदेखि हेरिरहेका लेमलेमले भन्नुभयो, “म चकित छु, यी मानिस कहाँ गइरहेका होलान् ?”

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.