बडादसैंका प्रमुख कृत्यहरू
महासिद्धिप्रदं धर्म्यं सर्वशत्रुनिवर्हणम्।
सर्वलोकोपकारार्थं विशेषादतिवृष्टिषु।।
क्रत्वर्थं ब्राह्मणाद्यैश्च क्षत्रियैर्भूमिपालने।
गोधनार्थं विशा वत्स शूद्रैः पुत्रसुखार्थिभिः।।
सौभाग्यार्थं स्त्रिया कार्यमाढ्यैश्च धनकांक्षिभिः।
महाव्रतं महापुण्यं शंकराद्यैरनुष्ठितम्।।
बडादसैंमा भगवती जगदम्बा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । शक्ति अार्जनका लागि दुर्गाको अाराधना गरिन्छ। बडादसैंलाई दसैं, विजया दशमी अादि नामले चिनिन्छ । नेपाली समाजमा राष्ट्रिय पर्वको रूपमा मनाइने दसैं पर्व अाश्विन शुक्लपक्षको प्रतिपदादेखि पूर्णिमासम्म विशेष हर्षोल्लासका साथ पन्ध्र दिनसम्म यो पर्व मानाइन्छ।
आश्विन शुक्ल प्रतिपदा अर्थात् बडादसैंको प्रथम दिनबाट देवीको पूजा–अाराधना प्रारम्भ गरिन्छ। यस दिन शास्त्रोक्त विधिले शुभ साइतमा घटस्थापना गरी जमरा राखिन्छ र घरमा दुर्गा भवानीको अावाहन गरी दैनिक रूपमा भगवतीको विशेष पूजा गरी चण्डीपाठ प्रारम्भ गरिन्छ। नवरात्रका द्वितीया, तृतीया, चतुर्थी, पञ्चमी र षष्ठीका दिनसम्म स्थापित भगवतीको निरन्तर पूजाआराधाना गरी नियमित चण्डी पाठ गरिन्छ। षष्ठीका दिन भने बेलको रूखमा गएर पूजन गरी बेललाई निमन्त्रण गरिन्छ। यो कृत्य सायंकालमा गर्नुपर्छ।
सप्तमीका दिन अरू दिनजस्तै भगवतीको नियमित पूजनादि गरी बेलपत्र टिपेर ल्याउनुपर्छ भने धेरै प्रकारका फूलहरू, फलहरू एवं नवपत्रिका ल्याएर घर या पूजाघरको मुख्य द्वारमा राखी हर्ष–बढाइँसाथ फूलपाती भित्र्याइन्छ। नेपालको सन्दर्भमा यो फूलपाती भित्र्याउने कार्यलाई निकै महत्त्वका साथ हेरिन्छ। यसै दिन गोरखा दरबारदेखि काठमाडौंको हनुमानढोकाको पूजाघरसम्म फूलपाती ल्याई राजकीय सम्मानका साथ भित्र्याइन्छ भने नाचगान गरी हर्षोल्लासका साथ प्रत्येक नेपालीका घरमा पनि फूलपाती भित्र्याइन्छ। फूलपाती भित्र्याएपछि हर्ष बढाइँ हुन्छ।
अष्टमी, नवमी र दशमी यस पर्वका विशेष दिनहरू हुन्। अष्टमीका दिन शैलपुत्री अादि नवदुर्गाको पूजा, वलिदान अादि कृत्यहरू गरिन्छन्। यस दिन नवदुर्गा भवानीको अर्चना गर्दा दक्षिणबाट उत्तरतिर हुने गरी चामलका नौ थुप्रा लगाएर ती थुप्रामा दक्षिणबाट उत्तरतिर १–१ देवीको क्रमैसँग पूजा गरिन्छ। प्रथममा शैलपुत्री, द्वितीयमा ब्रह्मचारिणी, तृतीयमा चन्द्रघण्टा र त्यसपछि क्रमश: कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री भगवतीको पूजा गरिन्छ। यसैगरी नवपत्रिका, जनै सुपारी, नैवेद्य, फलफूल, भेटी, दक्षिणा आदि पनि चढाइन्छ। यसै दिन नयाँ हात-हतियार र पुराना कुटो-कोदालो, खुर्पा, खुकुरी तरवार, चुलेंसी, चक्कुलगायत औजारको पनि पूजा गरिन्छ। निश्चित स्थान तथा कार्यबाहेक कुष्माण्डादिको वलि, नरिवलको वलि, केरा, घिरौलो अादिको वलि घरको अगाडि आँगनमा दिइन्छ। यस क्रममा ‘जय देवी भैरवी…’ अादि वलि दिन भनिने प्रसिद्ध श्लोकहरू उच्चारण गर्नु पर्छ। तर सात्त्विक पूजामा भने वलिको उपयोग गरिँदैन। बडादसैंको यो अत्यन्त महत्त्वपूर्ण दिनको रूपमा पर्दछ। तिथिअनुसार कालरात्री पूजा पनि यसै दिन गरिन्छ । महानवमीका दिन दैनिक पूजा, भीमसेनको पूजा, चण्डीपाठ, नौ कन्या पूजा, हवन अादि कृत्यहरू सम्पन्न गरिन्छन्।
दशमीका दिन नित्यपूजनादि कार्य सकेर जया, विजयासहित अपराजिता भगवतीको विशेष पूजा गरेपछि घटमा स्थापित मूल र अन्य देवीलाई समेत शुभसाइतमा उठाई पूजा विसर्जन गरिन्छ र नयाँ तथा चोखो वस्त्र लगाई तयारीका साथ गुरुपुरोहित एवं अाफ्ना मान्यजनका हातबाट शुभसाइतमा दुर्गा भवानीको प्रसाद टीका–जमरा लगाइन्छ । यो नै विजयादशमीको मुख्य एवं महत्त्वपूर्ण समय हो। यसपछि मान्यजनका घरघरमा गएर टीका जमाराका साथ अाशीर्वाद लिने धार्मिक परम्परा रहेको पाइन्छ। कोजाग्रत पूर्णिमासम्म यो क्रम निरन्तर चलिरहन्छ भने कोजाग्रत पूर्णिमाका दिन रातिमा महालक्ष्मीको पूजा गरेर पारिवारिक जमघटका साथ कौडा अादि खेलेर बडादसैं र कोजाग्रत पूर्णिमाको बिदाइ गर्दै बडादसैं पर्व समापन गरिन्छ ।
घटस्थापना गर्ने विधिः
लिपपोत गरी चोख्याइएको शुद्ध स्थानमा घटस्थापना गर्नुपर्छ। सुरुमा दीप–कलश–गणेश पूजन गरी माटो वा बालुवामाथि दुर्गा भवानीको आवाहन गर्न जौ, गहुँ आदि रोपण गरेर त्यसको बीच भागमा दुर्गा भवानीको घडा स्थापना गर्नुपर्छ। त्यसमा सपरिवार, सायुध, सशक्ति दुर्गा भवानीको स्थापना गर्ने विधान छ। थालीमा देवीयन्त्र वा अष्टदल लेखी दुर्गायन्त्र लेखेको थालीलाई घडामाथि राखेर त्यसमा सुनको, चाँदीको वा अन्य कुनै धातुनिर्मित देवीप्रतिमालाई प्राणप्रतिष्ठा गरी स्थापना गरेर आवरण पूजासहित दुर्गा भवानीको पूजा प्रारम्भ गर्नुपर्छ।
यही विधिलाई घटस्थापना भनिन्छ। यसपछि दुर्गा भवानीको पाठ, जप, चण्डीपाठ गर्ने गरिन्छ। यो शक्तिको उपासना गर्ने विशेष अवसर भएकाले श्रीमद्देवीभागवतको अनुष्ठान पनि प्रारम्भ गर्न सकिन्छ। नवकन्यामध्ये प्रथम कन्याको पूजा, शैलपुत्री भगवतीको विशेष पूजा तथा दर्शनआदि गरिन्छ। यही दिन सामाजिक तथा राष्ट्रियस्तरमा पनि देवीको मूर्ति स्थापना गरी दुर्गा भवानीको आराधना गरिन्छ।
पूजनीया जनैर्देवी स्थाने स्थाने पुरे पुरे।
गृहे गृहे शक्तिपरैग्र्रामे ग्रामे वने वने।।
स्नातैः प्रमुदितैर्हृष्टैब्र्राह्मणैः क्षत्रियैः नृपैः।
वैश्यैः शूद्रैर्भक्तियुक्तैर्म्लेच्छैरन्त्यैश्च मानवैः।।
नवरात्रमा सबै मानवले देवीको पूजा गर्न सक्छन् र सबैले गर्नुपर्दछ। नवरात्रको पूजापाठ नित्य भएकाले नगर्दा दोष लाग्छ भने गर्दा विशेष फलप्राप्ति हुन्छ। नित्यकर्म जस्तै नियमित पूजापाठ गर्नुपर्छ। कुनै तिथि क्षय भएको भए कुनै दिन दोहोर्याएर उक्त तिथिको पूजासमेत पूरा गर्नुपर्छ।
दुर्गाको षोडशोपचार पूजाविधि–
ध्यानमन्त्र-
अागच्छ वरदे देवि ! दैत्यदर्प निषूदिनी ।
पूजां गृहाण सुमुखि ! नमस्ते शंकरप्रिये ।।
सर्वतीर्थमयं वारि सर्वदेव समन्वितम् ।
इमं घटं समागच्छ तिष्ठ देवगणैः सह ।।
ध्यानं समर्पयामि, सपरिवारयुतायै साङ्गायै दुर्गादेव्यै नमः।
दुर्गाका चारैतिर रहने देवताहरूको पूजा–
बीचमा सिंहासनको पूजा गरी ईशानबाट क्रमश: पूजा गर्ने–
ॐ विष्णवे नमः। ॐ शिवाय नमः। ॐ विनायकाय नमः। ॐ सूर्याय नमः। दुर्गा देव्याः सर्वेभ्यो परिवारेभ्यो नमः।
(वैदिक मन्त्र, तान्त्रिक मन्त्र, दुवै मन्त्र मिलाएर वा नाम मन्त्रले मात्र पनि देवीको पूजा गर्न सकिने भएकाले यहाँ नाममन्त्रद्वारा पूजा विधि प्रदर्शन गरिएको छ।)
१. अासनं समर्पयामि, दुर्गादेव्यै नमः। (आसनका लागि देवीलाई कुश तथा फूल चढाउने)
२. पाद्यं समर्पयामि, दुर्गादेव्यै नमः।
३. अर्घ्यं समर्पयामि, दुर्गादेव्यै नमः।
४. अाचमनीयं समर्पयामि, दुर्गादेव्यै नमः।
५. स्नानीयं समर्पयामि, दुर्गादेव्यै नमः।
६. पञ्चामृतस्नानं समर्पयामि, दुर्गादेव्यै नमः।
७. शुद्धोदकस्नानं समर्पयामि, दुर्गादेव्यै नमः।
८. वस्त्रं, यज्ञोपवीतं उपवस्त्रं च समर्पयामि, दुर्गादेव्यै नमः।
९. श्रीखण्डादि चन्दनं समर्पयामि, दुर्गादेव्यै नमः।
१० अक्षतान् समर्पयामि, दुर्गादेव्यै नमः।
११ पुष्पं, पुष्पमालां, सौभाग्यद्रव्याणि समर्पयामि, दुर्गादेव्यै नमः।
(सिन्दुर, गाजल, टीका, मंगलसूत्र अादि सबै चढाउने र अावरण पूजा पनि यहीं गर्नुपर्दछ।)
१२ धूपं अाघ्रापयामि, दीपं च दर्शयामि, दुर्गादेव्यै नमः।
१३ नानाविधानि नैवेद्यानि, फलानि च समर्पयामि, दुर्गादेव्यै नमः। अाचमनीयं च समर्पयामि, दुर्गादेव्यै नमः।
१४ ताम्बूलं समर्पयामि, दुर्गादेव्यै नमः। सुगन्धिद्रव्यं च समर्पयामि, दुर्गादेव्यै नमः।
१५ न्यूनतातिरिक्तये द्रव्यदक्षिणां समर्पयामि, दुर्गादेव्यै नमः।
१६ अारार्तिक्यं, पुष्पाञ्जलीं, प्रदाक्षिणां, क्षमापनं च समर्पयामि, दुर्गादेव्यै नमः।
अनेन यथा उपलब्धवस्तुद्वारा पूजनेन दुर्गादेवी प्रियताम् न मम।
(षोडशोपचार पूजा दैनिक रूपमा गर्नुपर्छ। चण्डीपाठ गर्ने भए ब्राह्मणवरण, पुण्याहवाचन अादि गरेर पुस्तकको पूजा गरी पाठ गर्नुपर्दछ।)
साभार: नेपाली पात्रो

प्रा.डा. देवमणि भट्टराई । आश्विन शुक्लपक्षको प्रतिपदा तिथिदेखि नवरात्र प्रारम्भ हुन्छ। यो नवरात्रको व्रतलाई महासिद्धि प्रदायक, अत्यन्त दुर्लभ पुण्यदायक, सम्पूर्ण शत्रुहरूलाई विनाश गर्ने र सम्पूर्ण प्राणीहरूको उपकार गर्ने उत्कृष्ट व्रतका रूपमा वर्णन गरिएको पाइन्छ। सबै मनोकांक्षा पूरा हुने हुँदा यसलाई प्राणीहरूको उपकार गर्ने विशिष्ट व्रत मानिएको छ। परं सुख, ऐश्वर्य, भोग, बल, तेज, प्रताप, धन, पत्नी, पुत्र, विद्या, बुद्धि, सौभाग्य, राज्य आदि सबै वस्तु प्राप्त गराउने हुँदा यस व्रतलाई महाव्रत समेत भनिएको छ। –