थापा दम्पती सफल बाख्रापालक

गलकोट, १२ फागुन : गलकोटका युवा विष्णु थापा र उहाँकी पत्नी रीताले सात वर्षयता स्थानीय र बोयर जातका बाख्रा पाल्दै आउनुभएको छ । बागलुङ जिल्लाको गलकोट नगरपालिका–७ मल्म टोकरीका सो दम्पतीले बाख्रापालन गरेर मनग्य आम्दानी पनि गरेको छ ।

गाउँका अधिकांश युवा रोजगारीका लागि विदेशिए पनि विष्णुलाई आफ्नै गाउँमा बसेर केही गर्ने सोच आयो । यहीँ केही गर्दा विदेशिने साथीभाइलाई पनि प्रेरणा मिलोस् भनेर विसं २०६८मा रु छ हजारको लगानीमा शुरु गरिएको बाख्रापालन अहिले मुख्य आम्दानीको स्रोतका रुपमा रहेको उहाँ बताउनुहुन्छ ।

अहिले थापाको बाख्रा फार्ममा ५० बाख्रामध्ये अधिकांश बोयर जातका छन् । “छिमेकीका श्रीमान् जापानलगायत अन्य मुलुकहरु हुँदा पनि आफ्नो श्रीमान्लाई कहिल्यै विदेश जान आग्रह गरिनँ”, रीताले भन्नुभयो, “सबै विदेश–विदेश मात्र भन्छन्, हामी बाख्रापालन गरी स्वदेशमै रमाएका छौँ ।” सबै खर्च कटाएर वार्षिक रु पाँच लाख जति बचत हुने थापा बताउनुहुन्छ ।

शुरुमा स्थानीय स्रोतसाधन उपयोग गरेर खोर निर्माण गर्नुभएका विष्णुले तत्तकालीन जिल्ला पशुसेवा कार्यालयको खोर सुधार कार्यक्रमअन्तर्गत प्राप्त भएको रु एक लाख ९० हजारले आधुनिक शैलीमा खोर बनाउनुभएकोे थियो । “बिउ बोका राख्ने, ब्याउने बाख्रा राख्ने, ब्याइसकेकालाई राख्ने, पाठापाठी राख्ने बेग्लाबेग्लै खोर बनाएका छौँ”, विष्णुले भन्नुभयो, “आम्दानी राम्रो हुँदै गएका कारण थप लगानी गर्ने सोचमा छु ।”

थापा दम्पतीको टोकरीमा प्रशस्त जग्गा भएका कारण घाँसपात र अन्नको कुनै समस्या नभएकाले बाख्रापालन व्यवसाय फस्टाएको हो । सानो रकमबाट बाख्रापालन शुरु गर्नुभएका विष्णुले अहिले झण्डै रु २० लाखभन्दा माथिको सम्पत्ति जोडिसकेकोे बताउनुहुन्छ । स्थानीय जातका बाख्रा हटाएर विस्तारै बोयर जातका बाख्राको सङ्ख्या वृद्धि गरेर १०० पु¥याउने ती दम्पतीको लक्ष्य छ ।

थापाको ‘घुम्टे बाख्रापालन’ फार्मलाई गलकोट नगरपालिकाले अनुदानमा एक बोयर जातको बीउ बोका प्रदान गरेको थियो । आफूले उत्पादन गरेका खसीबोका स्थानीय बजारमै खपत हुँदै आएको र उत्पादन गर्न सकेमा बजारको समस्या नरहेको विष्णुले बताउनुभयो । प्राविधिक रूपमा भने आफूलाई निकै समस्या हुने गरकाले यस्ता किसानलाई स्थानीय तहले बेलाबेलामा प्राविधिक तथा अन्य सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । विष्णुले बाख्रापालनसँगै दुई भैँसीसमेत पाल्नाका साथै गाउँका सामाजिक काममा समेत उत्तिकै सहभागी हँुदै आउनुभएको छ ।

बसाइँसराइका कारण गलकोट मल्मका ८० प्रतिशत घर खण्डहरजस्तै छन् भने उर्वरभूमि बाँझो छ । त्यही उर्वरभूमिमा बाख्रापालन व्यवसयाबाट थापा दम्पतीले गरेको उदारणीय काम विदेशिएका युवाका लागि प्रेरणादायी बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.