लनटेनिसका प्रणव शिखरको ब्राण्ड एम्बासडर
काठमाडौँ १ चैत : शिखर इन्सोरेन्स कम्पनी लिमिटेड, थापाथलीले लनटेनिस खेलाडी प्रणव खनाललाई आज ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ ।
पुरुष सिङ्गल्स वरियताको दोस्रो स्थानमा रहेका प्रणव र शिखर इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । यही चैत १ गतेदेखि लागू हुने सम्झौताअनुसार प्रणवलाई शिखरले एक वर्षका लागि रु पाँच लाख उपलब्ध गराउने छ । त्यसमा प्रणवलाई ब्राण्ड एम्बसडरबापत मासिक नगद प्रदान गर्नुका साथै प्रशिक्षणका लागि आवश्यक सामग्री खरीद गर्न रकम पनि उपलब्ध गराउने छ ।
आठ वर्षको उमेरदेखि लनटेनिस खेल्न शुरु गरेका प्रणवले इण्डोनेसियामा भएको १८औँ एशियाली खेलकूदसहित एकदर्जन अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । सन् २०११ मा भियतनाममा भएको प्रतियोगिता प्रणवको ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । त्यत्तिखेर उनी ११ वर्षका थिए । १७ वर्षीय प्रणवले हालसम्म चार अन्तर्राष्ट्रिय पदक जितेका छन् ।
उनले कतारमा २०१४ र २०१५ मा भएको कतार एशियन यु–१४ जुनियर टिम कपमा कास्य, २०१८ मा भारतमा भएको खुला आइटीएफ जुनियर टेनिसको डबल्समा कास्य तथा २०१८ मै भारतमै भएको तेञ्जिङ नोर्गे स्मृति खुला टेनिसमा स्वर्ण जितेका थिए ।
सिङ्गल्समा १०औँ सहवीर स्मृति खुला लनटेनिसमा स्वर्ण, सहवीर स्मृतिकै ८औँ संस्करणमा रजत, प्रथम बुटवल खुला लनटेनिसमा स्वर्ण तथा पाँचौंँ सिटिजन्स बैंक खुला लनटेनिस र सातौँ राष्ट्रिय खेलकूदमा जितेको कास्य घरेलु प्रतियोगितामा प्रणवले हासिल गरेको मुख्य उपलब्धि हुन् । उनले टेनिसमा धेरै कम खेलाडीले मात्र प्रायोजक पाइरहेको अवस्थाको अन्त्य गर्न आफ्नो खेलमा सुधार गर्दै अन्य संस्थालाई पनि प्रायोजनका लागि आकर्षित गर्न हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रमुख कार्यकारी पाण्डेले टेनिस खेलाडीलाई पनि कर्पोरेट क्षेत्रबाट प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले सानो शुरुआतका रुपमा प्रायोजन गरेको बताउँदै शिखरको तर्फबाट चाँडै नै टेनिस प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । नेपाल टेनिस सङ्घकी अध्यक्ष ज्योति राणाले प्रणवको खेलको कदर गर्दै प्रायोजन गरेकामा खुशी व्यक्त गर्नुभयो ।
