गीतसङ्गीत क्षेत्रका मूर्धन्य व्यक्तित्व सम्मानित

काठमाडौँ, ९ असार : विश्व सङ्गीत दिवसकोे अवसर पारेर नेपाली गीतसङ्गीत क्षेत्रका मूर्धन्य व्यक्तित्वलाई आज यहाँ सम्मान गरिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले शान्ता सुनामद्वारा आयोजित ‘शुभबहादुर सुनाम सङ्गीत सन्ध्या’ कार्यक्रममा उहाँहरुलाई सम्मान गर्नुभएको हो ।

सम्मानित हुनेमा भैरवनाथ रिमाल ‘कदम’, रत्नशम्शेर थापा, कुमार बस्नेत, अमूल कार्की ढलीलगायत हुनुहुन्छ । नेपाली गीतसङ्गीत क्षेत्रमा विशिष्ट योगदान पु¥याएवापत उहाँहरु सम्मानित हुनुभएको हो ।

सङ्गीत सन्ध्यामा शुभबहादुरका सङ्गीत समेटिएका १२ गीत र केही नृत्यसमेत प्रस्तुत गरियो । उक्त सन्ध्यामा पुराना गायक प्रेमध्वज प्रधान तथा गायिका कुन्ती मोक्तानले गायन प्रस्तुत गर्नुभयो ।

सो अवसरमा शुभबहादुरका चार पुस्ताबाट गीतसङ्गीतका विभिन्न प्रस्तुति दिइएका थिए । उहाँले २७० भन्दा बढी नेपाली गीतमा सङ्गीत भर्नुभएको छ । नेपाली चलचित्र ‘मनको बाँध’को शीर्ष गीतमा सङ्गीत दिनुभएका शुभबहादुर नेपाली सङ्गीत क्षेत्रका शिखर व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ । शुभबहादुरका सिर्जना समेटिएको ‘अमर माया’ नामक गीति क्यासेट पनि सो अवसरमा विमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.