निर्देशक चेतन कार्कीको निधन

काठमाडौं, २ जेठ : नेपाली चलचित्रका सफल निर्देशक, लेखक, गीतकार तथा साहित्यकार चेतन कार्कीको निधन भएको छ । उनको ८४ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो ।

गत आइतबार कोरोना संक्रमित भएपछि उनलाई छाउनीस्थित अस्पतालमा भर्ना गरिएको थियो । उनको आज बिहान १० बजे उपचारका क्रममा निधन भएको हो ।

चेतन कार्कीले ‘विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी’ लगायतका चलचित्र निर्देशन गरेका थिए । साथै, उनले सय भन्दा बढी चलचित्रका कथा समेत लेखेका छन् । उनले चलचित्र ‘परिवर्तन’देखि चलचित्र लेखनको काम सुरु गरेका थिए ।

कार्की पटकथाकार र गीतकारका रुपमा पनि स्थापित थिए । कार्कीले हिरासिंह खत्रीले निर्देशन गरेको ‘परिवर्तन’को पटकथा र गीत लेखेका थिए ।

१९९५ मा स्याङ्जामा जन्मिएका कार्की नेपाली फिल्म र कलाको इतिहासका ज्ञाताका रुपमा चिनिन्थे । कार्कीको अन्त्योस्टी आइतबार दिउँसो २ बजे गरिने बताइएको छ । उनका श्रीमती र दुई छोरा छन् । उनले लेखेको फिल्म गीत ‘तीजको लहर आयो बरिलै’ फिल्मको सबभन्दा चलेको सदाबहार गीत हुन ।

कार्कीको निधनपछि उनलाई फिल्मकर्मीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिएका छन् । निर्देशक एवं कलाकार नीर शाहले लेखेका छन्, ‘फिल्म क्षेत्रको जिउँदो इतिहास, आदरणीय चेतन दाइको आज दुखद् अन्त्य भएको छ । चेतन दाइ फिल्म क्षेत्रको अर्को नाम हो । बिदाई चेतन दाइ, हजुरका सिद्धान्तलाई सँधै पछ्याउनेछु । तपाईंको आत्माले शान्ति पाओस् ।’

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.