वरिष्ठ सङ्गीतकार दीपबिमको ४५ औँ पुण्यतिथिमा विविध कार्यक्रम गरिँदै  

टीका खतिवडा । फिक्कल, २४ जेठ : पछिल्लो समय ‘न म नेपाली नै रहेँ, न विदेशी नै भएँ’ बोलको यो गीतमा सङ्गीत भर्दै हुनुहुन्थ्यो स्व मदन दीपबिम बस्नेत । अमेरिकामा भएको एक नेपाली साङ्गीतिक कार्यक्रममा गीत गाउँदागाउँदै ढल्नुभएका उहाँ उठ्न सक्नु भएन । उहाँलाई अस्पताल त लगियो तर, बचाउन सकेन । अस्पताल लगेको करीव एक महिनापछि उहाँको मृत्यु भएको घोषणा गरिएको थियो । आज उहाँ निधन भएको ४५ औँ पुण्यतिथि हो । उहाँको गत वैशाख ९ गते मृत्यु भएको थियो ।

वरिष्ठ सङ्गीतकार स्व बस्नेतले एक हजार ५०० भन्दा धेरै गीतमा सङ्गीत भर्नुभएको छ । चार सय भन्दा धेरै गीत गाउनुभएको उहाँले २५० भन्दा बढी गीत रचना गर्नुभएको छ । त्यसैगरी, एक हजार जति गीतका भिडियोग्राफी समेत भएको छ । स्व दीपबिमले हजारौँ गीतमा नृत्य गरेको र सिकाएको समेत बताइन्छ ।
स्व दीपबिमले गाउनुभएका ‘झ्याम्मै चौतारी, माया लाउँ भने छैन दौँतरी’, ‘ढल्की गो पापी जोवन, ढल्की जाने जोवनलाई त्यसो नभन’ जस्ता गीतहरु चर्चित छन् ।

त्यस्तै, ‘झस्केर दुख्छ यो मुटु मेरो उसैको यादमा’, ‘के भूल भयो प्रिया मसँग बोल्दिनौं,’ लगायतका गीतमा उहाँले सङ्गीत भर्नुभएको छ । उहाँले नेवारी गीतमा पनि स्वर दिनुभएको छ । गाउने र सङ्गीत भर्ने मात्र हैन उहाँले गीत पनि लेख्नुभएको छ । ‘तिम्रै यादमा कल्पि कल्पि’, ‘सुरिलो रुख सल्लै हो’, ‘भन्छन् सबै जिन्दगी यो डुबिजाने घाम जस्तै हो’ गीतहरु उहाँद्वारा रचित हुन् ।

स्व बस्नेतले पहिलो पटक रेडियो नेपालमा २०२० सालमा गीत गाउनुभएको थियो । त्यतिबेला उहाँले अर्कैको गीत गाउनुभएको थियो । उहाँको लेखनको पहिलो गीत २०२६ सालमा आफ्नै श्रीमती गायिका शिबा बस्नेतले रेडियो नेपालमा गाउनुभएको थियो । त्यो हो – ‘वर्ष बितोस् युग बितोस् बितोस् जिन्दगी मेरो, तिम्रै माया तिम्रै प्यारमा बितोस् जिन्दगी मेरो’

स्व दीपबिम २०३२ सालदेखि काठमाडौँमा स्थायी रुपमा बस्न थाल्नुभयो । उहाँ आजभन्दा ७ वर्ष अघि काठमाडौँ छिर्नुभएको थियो । उहाँले रेडियो नेपालको वरिष्ठ सङ्गीतकारका रुपमा समेत काम गर्नुभएको थियो । त्यस्तै, म्युजिक नेपालका निर्देशकका रुपमा समेत काम गर्नुभएका उहाँको सङ्गीत क्षेत्रमा ठूलो देन रहेको सङ्गीतकर्मीहरु स्मरण गर्छन् ।

इलाम संस्कृति सङ्गीत कला प्रतिष्ठानका अध्यक्ष देवी गौतमले भन्नुभयो – “उहाँले सङ्गीतमा जुन देन दिनुभयो, त्यो कहिल्यै भुल्न सकिँदैन ।” स्व बस्नेत गीत सङ्गीतको रोयल्टी उठाउनु पर्छ भनेर पहिलो पटक आवाज उठाउने सर्जक पनि हुनुहुन्छ ।

विसं २००४ चैत्र २८ गते बुबा शिवबहादुर र आमा बिष्णुमाया बस्नेतका जेष्ठ सुपुत्रका रुपमा जन्मनुभएका उहाँ बाल्याकालदेखि नै सङ्गीतप्रति झुकाव राख्नु हुन्थ्यो । उहाँको मृत्युले परिवारमा मात्र हैन इलामेली र सम्पूर्ण सङ्गीतप्रेमीलाई समेत भावुक वनाएको इलाम नगरपालिकाका मेयर तथा स्व दीपबिमका भाइ महेश बस्नेतले बताउनुभयो ।

आफ्नो समकालीन सङ्गीतकर्मी दीपबिमको चञ्चले स्वभावलाई सम्झनुहुने प्राज्ञ तथा सङ्गीतकार कोमल निरौला उहाँ पूरै समय सङ्गीत दुनियाँमै तल्लीन रहेको बताउनुहुन्छ ।

स्व दीपबिमको स्मृतिमा आज उहाँको जन्मस्थल इलाममा पनि विविध कार्यक्रम गरिँदैछ । उहाँलाई श्रद्धाञ्जलि दिन शोकसभा गरिएको छ भने साँझ दीप प्रज्वलन गर्नेे कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.