गीतकार खरेल सम्मानित
ललितपुर, ९ भदौ : गायक, सङ्गीतकार तथा गीतकार दुर्गा खरेल ‘गोपाल योञ्जन स्मृति सम्मान पुरस्कार–२०७५’ बाट सम्मानित हुनुभएको छ ।
वरिष्ठ साधक, स्रष्टा तथा शिल्पी गोपाल योञ्जनको ७६औँ जन्मजयन्तीका अवसरमा द म्युजिकल जोर्नीले एक कार्यक्रम आयोजना गरेर उहाँलाई सम्मान गरेको हो ।
कार्यक्रममा कवि तथा गीतकार नगेन्द्र थापाले गोपाल योञ्जनले समाजका लागि धेरै कुरा दिए पनि समाजले उहाँलाई केही दिन नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “उहाँले दिनुभएको भन्दा १० प्रतिशत पनि समाजले उहाँलाई दिन सकेन ।” योञ्जनले समाजका लागि अतुलनीय योगदान गरेको उहाँले बताउनुभयो ।
सम्मानित व्यक्तित्व दुर्गा खरेलले आफूले योञ्जनसँग सङ्गीत सिकेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले उहाँसँग सङ्गत गर्न पाएको थिएँ, त्यो नै मेरा लागि सुनौलो अवसर भयो ।” संस्कृतिक संस्थानका महाप्रबन्धक राजु थापाले नेपाली लोकगीतलाई उचाइ दिनका लागि योञ्जनको भूमिका रहेकामा जोड दिनुभयो ।
स्रष्टा शरद प्रधानले नेपाली सङ्गीत क्षेत्रमा योञ्जनको योगदानका बारेमा चर्चा गर्नुभयो । द म्युजिकल जोर्नीका अध्यक्ष सुभासचन्द्र ढुङ्गेलले संस्थासँग अरु आर्थिक स्रोत नहुँदा पैसा उठाएरै कार्यक्रम गरेको बताउनुभयो ।
