जम्बले र झङ्बुको ‘टुङ्ना’

ओखलढुङगा जिल्लाको खिजीदेम्बा गाउँपालिका ९ फाप्रेका ५२ वर्षीय जम्बले शेर्पा (बायाँ) र सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका १ का ६५ वर्षीय झङबु शेर्पा आफनो समुदायको मौलिक बाजा ‘टुङना’ बजाउँदै । तस्वीर: नारायण ढुङगाना, काठमाडौँ ।

नारायण ढुङ्गाना । फाप्रे, ओखलढुङ्गा, २६ चैत :

नादिङ झुल्के खै लाला, नादिङ झुल्के…

धुमधुम कुहिरो आकासमा, धुमधुम कुहिरो…

टम्म आकासमा कुहिरो लागेको हुन्थ्यो । गाउँभरीका शेर्पा समुदाय भेला भएर टुङ्नासँगै रमाइलोमा भुल्थे । मौलिक बाजा टुङ्नाको धुनमा मायाँ पिरतीका गीतसमेत गाएर साथीसङ्गी छमछम चाच्दै शेर्पा मनोरञ्जन लिन्थे ।

तिम्रो र हाम्रो यो मायाँ

पोको त पारौं रुमालमा ….

पहिलो कुनै शुभकार्य हुँदा विहे, मित, चिना साट्ने, लोसार र सङ्क्रान्तिका बेला टुङ्ना बजाइन्छ । टुङ्नाको धुनमा छोरीचेलीले गाउँने शेर्पा गीत छुट्टै हुन्थ्यो ।

लासुङ ला देको सुबे सुङ्ना रे

रिते थेवी, कङ्की रीति ङेम्बु घोसुङ

फामा जाङ्बी कङ्की सेम्बा जाङ्बु घोसुङ

ओखलढुङ्गा जिल्लाको खिजीदेम्बा गाउँपालिका–९ फाप्रेका ५२ वर्षीय जम्बले शेर्पा टुङ्नाका औधी पारखी हुनुहुन्छ । आइतवार टुङ्नाको धुनमा माथिका गीत गाउँदा उहाँको शरीरका प्रत्येक अङ्ग चलाएमान भए । कसैले कुनै गीत गाउँदा उहाँ दुरुस्तै धुन निकाल्नु हुन्छ । घरमा पाहुना आउँदा र कुनै कार्यक्रममा पनि उहाँ टुङना बजाउनु हुन्छ । नेपाली गीत रेलीमाइ, पानको पात, रेशम फिरीरी, कलकत्ते काईंयोलगायतमा टुङ्ना बजाउन उहाँलाई औधी मन पर्छ ।

विसं २०४५ सालतिर याक पाल्ने बेलामा गोठमा बस्दा उहाँले टुङ्ना बजाउन सिक्नुभएको थियो । “मनमा गीत फुर्छ, त्यसैको आधारमा औँला चाल्ने, जहाँ थिच्दा जुन धुन निस्किन्छ, त्यही आधारमा औला चालेर गीतमा मिलाउने,” टुङ्ना बजाउन सिकेको अनुभव उहाँले सुनाउनुभयो ।

दारीकपाल फुलेपनि टुङ्ना बजाउँदा उहाँमा १६ वर्षे जवानीको जोश निस्किन्छ । अनि मिठो स्वर निकालेर मच्ची मच्ची गीत गाउनु हुन्छ । बाजाको तालमा स्वतःफूर्तरुपमा उहाँको शरीरदेखि पाउसम्मका सबै अङ्ग चलायमान हुन्छ । पहिले हरेकका घरघरमा हुने टुङ्ना अहिले हराउँदै गएकोमा उहाँ दुखित हुनुहुन्छ ।

जम्बलेले भन्नुभयो, “साहै पिर छ, गाउँमा देखिनै छाड्यो, कोही सिक्न आएपनि सिकाउन हुन्थ्यो ।” शेर्पाको फरक फरक समुदायअनुसार टुङ्नाको धुन निस्कन्छ । उहाँले ग्वाले पार (ढाँचा), चाइलुङ बा पार र गर्जलुङ बा पारमा समेत धुन निकाल्नुहुन्छ ।

अहिले शेर्पा समुदाय पनि आधुनिक बाजामा आकर्षित छन् । प्रविधिको विकासले यस्ता मौलिक बाजाले स्थान पाउन सकेको छैन । आधुनिक बाजामा मान्छे लागेकाले हराउन लाग्यो भनेर एउटा टुङ्ना राखेको उहाँले सुनाउनुभयो ।

यो बाजा पहिले हरेकका घरमा गुञ्जिन्थ्यो । काठले बनेको भएपनि यो बाजाको बनोट र धुन सारङ्गीभन्दा फरक हुन्छ । औँलाको चाल पनि फरक हुन्छ । झण्डै सारङ्गीको धुनसँग मिल्न खोज्छ, तर आफ्नै मौलिक पन छ ।

विवाहलगायत कुनै शुभ कार्य होस् या रामरमाइला कार्यक्रममा टुङ्नाको धुनसँगै स्वर निकाली शेर्पा समुदायले नाचेर मनोरञ्जन लिन्थे । घरमा टुङ्ना छैन भने खल्लो लाग्थ्यो तर अहिले अबस्था फेरिएकाले शेर्पाका घरमा टुङ्ना दुर्लभ छ । कसैकसैका घरमा मात्रै भेटिन्छ ।

जम्बले जस्तै सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका–१ का ६५ वर्षीय झङ्बु शेर्पा पनि टुङ्ना पारखी हुनुहुन्छ । तिब्बतीयनले बनाएको पुरानो टुङ्ना सुरक्षित राख्नुभएको छ । “उहिले बुढापाकाले बजाउने बाजा घरपिच्छे हुन्थ्यो, अहिले हराउन थाल्यो,” झङ्बुले चिन्तित मुद्रामा भन्नुभयो ।

पर्यटकीय क्षेत्र पिके डाँडा तलको बेसक्याम्पमा होटल सञ्चालन गर्दै आउनुभएका उहाँले पर्यटक आउने वित्तिकै टुङना बजाएर रमाइलो गराउनुहुन्छ । उमेरले ६५ कटेपनि टुङ्नाका लागि तरुण जोश निकालेर उहाँ त्यसैको तालमा झम्नुहुन्छ ।

हाम्रो तेञ्जिङ शेर्पाले

चढ्यो हिमाल चुचुरा… गीत प्रस्तुत गर्दा पर्यटक मोहित हुन्छन । उहाँले तालमा ताल मिलाउँदै खुट्टा उफारेर टुङ्ना बजाउँदा उपस्थित सबैले एकसाथ नाचेर साथ दिन्छन् ।

कलकत्ते काइयो केश मेरो बाङ्गो

टेबुलमा ऐना छ पिरती मैले न लाको हैन

तकदिरमा रैन छ धान कै बाला झुलाउँला, मायाँलाई बोलाउँला

उक्त गीतमा सामुहिक नृत्यमा पर्यटक झुल्छन् । उहाँ शेर्पा भाषाका गीतमा पनि टुङ्ना बजाउनुहुन्छ । “पहिले धेरै आउँथ्यो अहिले त विर्सियो पो, पुस्ता हस्तान्तरण गर्न सकेन, चिन्ता छ, कोही सिक्नै आउँदैन, आफु जान सदैन ।” उहाँले थप्नुभयो ।

के हो टुङ्ना ?

शेर्पा जातीको मौलिक बाजा हो टुङ्ना । पतकरी नामको काठबाट यो बनाइन्छ । तल्लो भाग अलि फराकिलो क्षेत्रलाई बाख्राको छालाले मोरेको हुन्छ । माथिल्लो भागदेखि तल्लो भागसम्म तार जोडेको हुन्छ । गीतार, सारङ्गी र एकतारेभन्दा फरक मौलिकपनको बनोटमा हुन्छ । धुनमा पनि निक्कै मौलिकता पाइन्छ ।

माथिल्लो भागमा ठेडी(कान) राखिएको हन्छ । टुङ्नाबादकले धुन मिलाउन कान घुमाएर तार तन्काउने खुच्याउने गर्छन् । तल्लो भागमा टिलसिङ (काठको टुक्रो)ले तार (ताँती) चलाउँदा धुन निस्किन्छ । माथिल्लोपट्टी अर्काे हातको औंलाले थिचेर धुन मिलाउनुपर्छ ।

ओखलढुङ्गाको मोलुङ गाउँ कार्यपालिकाकाका सदस्य कर्मा शेर्पाले यो मौलिक बाजा विहे, पास्नी, संक्रान्ति, लोसार तथा शेर्वु नाचमा बजाईने गरिएपनि पछिल्ला समयमा हराउँदै गएको बताउनुभयो ।

टुङ्ना लगायत यहाँको मौलिक संस्कृति र रहनसहनलाई संरक्षण गरेर पर्यटनसँग जोड्न सके पर्यटन विकासमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्दै ओखलढुङ्गा पर्यटन विकास समितिका अध्यक्ष ङिवाङ्ङिमा शेर्पाले ट्रेकिङ ट्रेल बनाएर पर्यटन प्रवद्र्धनमा लागेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal