गायक शर्माको ‘लुट्न सके लुट…’ गीत पुनःयूट्युबमा राख्न आग्रह

काठमाडौँ, ५ फागुन (रासस) : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सामाजिक सञ्जालमा विवादित बनेको लोकदोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट…’ शीर्षकको गीतलाई पुनः यूट्युबमा राख्न आग्रह गरेको छ । प्रतिष्ठानका अध्यक्ष एवं लोक गायक बद्री पङ्गेनीले आज एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानका उपाध्यक्षसमेत रहनुभएका शर्माको गीत सुन्न पाउनु दर्शक र स्र्रोताको अधिकार हो भन्दै शर्मालाई पुनः गीत अपलोड गर्न आग्रह गरेको हो ।

“गीतमा प्रयोग भएका शब्द सार्वजनिक सञ्चारमाध्यममा आइरहेका शब्द हुन् । गीत सङ्गीतमा आउन नहुने भन्ने मापदण्ड छैन तसर्थ, पनि सर्जकद्वारा सिर्जना गरिएको कलाकृति, गीत सङ्गीत लोकले जस्ताको तस्तै सुन्न पाउनु स्रोताको अधिकार भएकाले प्रतिष्ठान कलाकार शर्मालाई उक्त गीत जस्ताको तस्तै पुनःअपलोड गर्नुहुन अनुरोध गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

गायक शर्माको गीतमा प्रयोग भएका शब्दमा कलाकार आफैँलाई ‘फेर्न योग्य’ लागेर गीत हटाउनुभएको हो भने त्यो उहाँको निजी स्वतन्त्रताको कुरालाई संस्था सम्मान गर्दछ तर कुनै दबाब या अन्य कारणले हटाएको हो भने गीतलाई जस्ताको तस्तै अपलोड गरी आइपर्ने अन्य विषय छलफलद्वारा समाधान खोज्न संस्था अगुवाइ गर्न तयार रहको जनाएको छ । शर्माको गीत यूट्युबमा भाइरल भएपछि गीतमा प्रयोग भएका केही शब्दलाई लिएर सम्बन्धित निकायको दबाबपछि शनिबार हटाइएको शर्माले आफ्नो फेसबुक स्टाटसमा लेख्नुभएको थियो ।

उहाँले केही साथीभाइ तथा शुभचिन्तकको सल्लाह सुझावबमोजिम शब्द परिमार्जन गरी पुनःसार्वजनिक गर्ने उल्लेख गर्नुभएको छ । यो विषयले शनिबार र आइतबार सामाजिक सञ्जालमा निकै चर्चा भयो । शर्माको गीतमा सार्वजनिक पदधारणा गरेको व्यक्तिप्रति सामाजिक मर्यादामा आँच आउने खालका शब्द प्रयोग गरिएको भन्दै व्यापक जनसमुदायको विरोधपछि शर्माले उक्त गीतलाई हटाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.