सातै प्रदेशमा साङ्गीतिक अभियान

काठमाडौँ, २२ पुस : स्थानीय तहमा भएका गीत, सङ्गीतका भाकालाई सङ्ग्रह गरी देश विदेशमा प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक आयोजना गरिएको पूर्व पश्चिम साङ्गीतिक अभियान सातै प्रदेशमा सम्पन्न भएको छ ।

अभियानअन्तर्गत सिन्धुली, सुनसरी, मोरङ, इलाम, झापा, मकवानपुर, चितवन, रुपन्देही, दाङ, बाँके, धनगढी, कञ्चनपुर, कास्की, गोरखा र सुर्खेतका विभिन्न शहरमा साङ्गीतिक गतिविधि सञ्चालन गरिएको थियो । ‘पद्ममा–दीप स्मृति’ प्रतिष्ठानले आयोजना गरेको पत्रकार सम्मेलनमा गत मङ्सिर १९ गते सिन्धुलीबाट थालिएको उक्त अभियान पुस १७ गते सुर्खेतमा सम्पन्न भएको जानकारी दिइयो ।

गीतकार डा डीआर उपाध्यायले रचना गर्नुभएका ४२ गीतलाई विभिन्न कलाकारले स्वर दिएर जोहो, अन्तराप, सहेली, हिमाली लय, नशालु नजर, प्रतिनाद र जखम नामक सात सिडी क्यासेटमा सङ्ग्रह गरेर सबै प्रदेशका स्थानीयवासीलाई सुनाइएको थियो । सो प्रतिष्ठानको आयोजनामा देशका सबै प्रदेशमा विद्यमान लोक भाका, सङ्गीत, स्थानीय साहित्य, कलाको अवस्थालाई अध्ययन र अनुसन्धान गरी मोफसलमा भएका प्रतिभाशाली कलाकारको खोजी गर्न अभियान सञ्चालन गरिएको सङ्गीतकार सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । ती गीतमा बुलु मुकारुङ, सन्तोष श्रेष्ठ र सागर अधिकारीले सङ्गीत दिनुभएको थियो ।

उक्त अभियानका लागि करीब छ महीनादेखि गीत रचना गर्ने, सङ्गीत भर्ने र गीतअनुसारका गायकको खोजी गरी सिडी तयार पार्ने काम गरिएको थियो । गत मङ्सिर ९ गते राष्ट्रकवि माधवप्रसाद घिमिरेले राष्ट्रिय नाचघरमा सातै सिडीको विमोचन गर्नुभएको थियो । एउटै गीतकारले सङ्कलन गरेका गीतलाई सात सिडीमा समावेश गरी एकैपटक सार्वजनिक गरिएको यो नै पहिलोपटक भएको आयोजकको दाबी छ । ती सिडीलाई विश्व कीर्तिमान कायम गर्नका लागि प्रक्रिया अगाडि बढाइएको छ ।

“साङ्गीतिक यात्रालाई अभियानका रुपमा लगिएको यो नै पहिलोपटक हो,” सङ्गीतकार सागर अधिकारीले भन्नुभयो । गोर्खा र कैलालीका स्थानीय जनप्रतिनिधिले सम्बन्धित लोक संस्कृतिको संरक्षणका लागि वार्षिक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रतिष्ठानका अध्यक्ष सुरेश घिमिरेले जानकारी दिनुभयो ।

गीतकार उपाध्यायले विभिन्न जाति समुदायका फरकफरक संस्कृति, परम्परा, भाषा तथा संस्कृतिले नेपाल सम्पन्न भए पनि त्यसको संरक्षण हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मुलुकको सभ्यता र सम्पन्नतालाई कला, साहित्य र संस्कृतिले मापन गर्छ, त्यसको जगेर्नाका लागि स्थानीय सरकार संवेदनशील हुनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal