‘आइरिसको आँखामा नेपाल’
काठमाडौँ, १९ असोज : साहसिक पदयात्राका क्रममा आइरिस फोटोग्राफरले खिचेका नेपाल झल्कने विविध तस्वीरको प्रदर्शनी गरिएको छ ।
नेपाल पर्यटन बोर्डले मासिकरुपमा आयोजना गरिरहेको ह्यास ट्याग फोटोनेपाल प्रदर्शनीअन्तर्गत भएको प्रदर्शनीमा ३५ वटा तस्वीर राखिएको छ । प्रदर्शनीको थिम ‘आइरिसको आँखामा नेपाल’ रहेको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को सहकार्यमा आयोजित प्रदर्शनीमा आयरल्याण्डबाट नेपालका विभिन्न गन्तव्यमा गएका आइरिस आरोही तथा पदयात्रीले खिचेका सर्वोच्च शिखर सगरमाथा, आरोहणका झलक, चर्चित अन्नपूर्ण पदयात्रा, सुदूरपश्चिमका महत्वपूर्ण पर्यटकीयस्थल, पुरातात्विक सम्पदा, एवं धार्मिमस्थलको तस्वीर समावेश छन् ।
यही असोज २२ गतेसम्म चल्ने प्रदर्शनीको एनआरएनका अध्यक्ष भवन भट्टले सेल्फी खिचेर उद्घाटन गर्दै नेपालको साहसिक तथा धार्मिक सांस्कृतिक पर्यटकीय गतिविधिलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
फोटो जर्नालिस्ट क्लबका अध्यक्ष विकास कार्कीले यस्ता प्रदर्शनीलाई अन्तर्राष्ट्रिय फोरममा हुने विभिन्न इभेन्टमा प्रवद्र्धन गरिनुपर्ने धारणा राख्नुभयो ।
चीनमा फोटो नेपाल
चीनको शुन्दे जिल्लाको बेइजाओ शहरको कल्चर सेन्टरमा यही अक्टोबर १ देखि ७ सम्म फोटोनेपाल प्रदर्शनी भइरहेको छ । नेपालका सुन्दर सय तस्वीर प्रदर्शनीमा रहेका आयोजक पर्यटन बोर्डले जनाएको छ । बोर्डको अवधारणामा शुरु गरिएको फोटोनेपालको आयोजना चीनमा भएको यो दोस्रो अवसर हो ।
चिनियाँ फोटो पनि प्रदर्शनीमा राखिएका छन् । यस प्रदर्शनीले नेपाल र चीनबीचको सांस्कृतिक, ऐतिहासिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने आशा गरिएको बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीले बताउनुभयो ।
नेपालका विभिन्न स्थान र पर्वको सुन्दर फोटो प्रदर्शनीमा राखिएको छ । चीनसँगै अन्य मुलुकमा पनि यस्तो अभियानलाई अघि बढाइने बोर्डले जनाएको छ ।
