साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेशमा रोक

काठमाडौँ, १५ साउन : गृह मन्त्रालयले कोभिड–१९ को जोखिम बढेको भन्दै रातिको समयमा उपत्यका प्रवेशमा रोक जगाएको छ ।

जोखिम बढेकाले दिउँसोको समयमा समेत आजदेखि उपत्यका प्रवेशमा कडाइ गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म अत्यावश्यक र ढुवानीका सवारीबाहेक आवागमन पूर्ण रोक लगाउन प्रशासन कार्यालयलाई विशेष निर्देशन जारी गरेको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा मुलुकका विभिन्न जिल्लाबाट उपत्यका आउने यात्रुको प्रवेश नाकामा परीक्षण गर्दा कोभिड–१९ को सङ्क्रमण देखिएकाले कडाइ गर्न निर्देशन दिएको उल्लेख छ ।

यस्तै काठमाडौँ उपत्यकाबाहेकका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन जारी गर्दै मन्त्रालयले अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी आवागमनका लागि पास जारी नगर्नसमेत भनेको छ । आज ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई उक्त निर्देशन जारी गरिएको मन्त्रालयले जनाएको छ ।

उपत्यका प्रवेश गर्ने २४ जनामा सङ्क्रमण

यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यका प्रवेश गर्ने तीन वटा नाकामा कोभिड–१९ को परीक्षण थालेको छ । तीन हजार ४७३ जनामा परीक्षण गर्दा २४ जनामा मात्र सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नागढुङ्गामा तीन, फर्पिगमा १०, साँगामा ११ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयले उपत्यका प्रवेश गर्ने सबै मानिसको नमूना सङ्कलन गरेको छ । अहिलेसम्म आठ हजार ४०१ जनाको नमूना सङ्कलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.