पुष्पलाललाई ‘नेपालरत्न’

काठमाडौँ, ३ असोज : सरकारले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ (मरणोपरान्त) लाई ‘नेपालरत्न’ द्वारा विभूषित गर्ने घोषणा गरेको छ ।

राष्ट्रपतिबाट संविधान दिवसका दिन उक्त मानपदवी दिइने गृह मन्त्रालयले जनाएको छ । त्यस्तै राजनीतिज्ञ गजेन्द्रनारायण सिंह र सङ्गीतज्ञ अम्बर गुरुङ (मरणोपरान्त), वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र राष्ट्रकवि माधव घिमिरे लाई महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) मानपदवीद्वारा विभूषित गर्ने घोषणा भएको छ ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम श्रेणी) तथा डा बालकृष्ण पोखरेल र जगमान गुरुङलाई उज्ज्वल कीर्तिमय राष्ट्रदीप (द्वितीय श्रेणी) मानपदवीद्वारा विभूषित गर्ने घोषणा गरिएको मन्त्रालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

त्यस्तै साहित्यकार दिनेशहरि अधिकारी, गायक तथा अभिनेता हरिप्रसाद रिमाल (मरणोपरान्त) र इतिहासकार प्रा दिनेशराज पन्तलाई सुकीर्तिमय राष्ट्रदीप (तृतीय श्रेणी) पदकद्वारा विभूषित गर्ने घोषणा गरिएको छ । मन्त्रालयले विभिन्न क्षेत्रका ९६ जनालाई सुप्रबल जनसेवाश्री (तृतीय श्रेणी), साहित्यकार झमककुमारी घिमिरेलाई कीर्तिमय राष्ट्रदीप (चतुर्थ श्रेणी), विभिन्न क्षेत्रका १६२ लाई प्रबल जनसेवाश्री (चतुर्थ श्रेणी) र ७४ जनालाई जनसेवाश्री (पञ्चम श्रेणी) मानपदवीद्वारा विभूषित गर्ने घोषणा गरेको छ ।

परम पौरख भाष्कर (नेपाली सेनाले मात्र प्राप्त गर्ने) अलङ्कारद्वारा छ, नेपाल प्रताप सुभूषण (नेपाली सेनाबाहेक अन्य सुरक्षाकर्मीले मात्र प्राप्त गर्ने) द्वारा २४, अति पौरख भाष्कर (नेपाली सेनाले मात्र प्राप्त गर्ने) द्वारा १२, नेपाल प्रताप आभूषण (नेपाली सेनाबाहेक अन्य सुरक्षाकर्मीले मात्र प्राप्त गर्ने) द्वारा १४, समाजसेवा रत्नद्वारा १३, महापौरख भाष्कर (नेपाली सेनाले मात्र प्राप्त गर्ने) र नेपाल प्रताप भूषण (नेपाली सेनाबाहेक अन्य सुरक्षाकर्मीले मात्र प्राप्त गर्ने) अलङ्कारद्वारा छ जनालाई विभूषित गर्ने घोषणा गरिएको छ ।

त्यस्तै राष्ट्रसेवा पदकद्वारा एक, सगरमाथा पदकद्वारा दुई, सुकीर्ति पदकद्वारा ३५, वीरता पदकद्वारा १७, सौर्य पदकद्वारा छ, प्राकृतिक प्रकोप पीडितोद्धार पदकद्वारा २३ र विकास रत्न पदकद्वारा तीन जनालाई विभूषित गर्ने घोषणा गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.