वडा कार्यालय भवन निर्माणमा जुट्यो कामपा   

शर्मिला पाठक । काठमाडौँ, ३० फागुन : काठमाडौँ महानगरपालिकाले हाल निर्माण गर्नुपर्ने सबै वडा कार्यालय भवन एउटै नमूनामा निर्माण भइरहेका छन् । यसरी वडा भवन निर्माणमा महानगरपालिका जुटिरहे पनि केन्द्रीय भवन कहाँ र कहिले निर्माण गर्ने भन्नेबारे अझै निर्णय हुन सकेको छैन ।

महानगरपालिकामा ३२ वडा छन् । त्यसमा धेरैको वडा कार्यलय भवन निर्माणाधीन अवस्थामा छ । निर्माणको अवस्थामा रहेका सबैको नमूना एकै प्रकारको रहने महानगरले जनाएको छ । केही वडामा भूकम्पअघि पनि वडा कार्यालय भवन नभएका र भएका केहीको पनि भूकम्पका कारण क्षति भएकाले वडा कार्यालय भवन निर्माणको तयारीमा महानगर जुटेको हो ।

नयाँ निर्माण गरिएका र गरिने सबै भवन परम्परागत नेपाली शैलीमा निर्माण गरिने र एउटा वडामा जसरी निर्माण गरिन्छ अन्य वडाले पनि सोहीअनुरुप एकरुपता कायम गरी निर्माण गर्नुपर्ने महानगरपालिकाले जनाएको हो । धेरै वडामा कार्यालय भवन भाडामा लिएर कामकाज भइरहेको छ । भवन नहुँदा काम गर्न कठिन हुनुका साथै सेवाग्राहीलाई सहजरूपमा सुविधा दिन नसकिरहेकाले सबै वडा भवन एकरुपताका साथ निर्माण गर्न लागिएको नगर प्रमुख विद्यासुन्दर शाक्य बताउनुहुन्छ ।

केन्द्रीय भवन निर्माणको विषयबारे छलफल भइरहेको प्रमुख शाक्यले जानकारी दिनुभयो । वडा नं ३, ४, ९, १४ र २६ का भवन आगामी वैशाखसम्ममा निर्माण सम्पन्न गरिसकिने छ भने वडा नं २, २९ र २२ मा बोलपत्र आह्वानको प्रक्रियामा छन् । यी सबै भवन निर्माणको डिजाइन इञ्जिनीयर पे्रम श्रष्ठले गर्नुभएको हो ।

सबै नयाँ भवन सम्बन्धित वडाका आफ्नै जग्गामा निर्माण गर्न लागिएको हो । एउटा कार्यालय भवन निर्माणका लागि रु दुई करोड ५० लाख लाग्ने अनुमान गरिएको छ । चालू आवभित्रै सम्पन्न गर्ने गरी महानगरपालिकाले सात वडामा नयाँ भवन निर्माण गर्ने तथा आफ्ना भवन भएका र भूकम्पका कारण सामान्य क्षति भएका केही वडाका तला थप गर्ने काम पनि अघि बढाइएको छ । आफ्नै भवन नहुँदा काम गर्न समस्या भएपछि वडाले पहिचान गरेको खाली जग्गामा भवन निर्माण गर्न लागिएको छ ।

केन्द्रको काम सात स्थानबाट

महानगरपालिका वडा कार्यलय भवन निर्माणमा जुटिरहँदा केन्द्रीय कार्यालय कहिले निर्माण गर्ने भन्ने विषय अझै निर्णयमा पुगेको छैन । महानगरको केन्द्रीय कार्यालय भवन पनि विभिन्न सात स्थानमा छरिएर रहेको छ । यसरी कार्यालय भवन एकै स्थानमा नहुँदा सेवाग्राहीलाई समस्या परेको छ । हाल महानगरपालिकामा १३ विभाग छन् ।

भूकम्पअघि हालको हरिभवनबाट नागरिकलाई सेवा दिँदै आएको महानगरले भूकम्प गएलगत्तै राष्ट्रियसभागृहबाट सेवा दिँदै आएको थियो । अहिले केही विभाग सुन्धारामा रहेको जेडिए कम्प्लेक्समा र केही राष्ट्रियसभागृहमा छन् । त्यस्तै वातावरण विभाग टेकुमा, सार्वजनिक निजी साझेदारी र सूचना प्रविधि महाशाखा जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा छन् ।

त्यस्तै नक्सा र भौतिक पूर्वाधार महाशाखाले तत्कालीन कर कार्यालय रहेको भवन बबरमहलबाट नै सेवा दिँदै आएका छन् भने महानगर प्रमुख शाक्य र उपप्रमुख हरिप्रभा खड्गी सुन्धारामा रहेको जेडिए कम्प्लेक्समै बसेर काम गरिरहनुभएको छ । यसरी विभाग सरेकोबारे जानकारी नहुँदा नागरिकले समस्या भोग्नुका साथै समयको बर्बादी पनि भइरहेको छ । महानगर उपप्रमुख खड्गी यी सबै समस्या भूकम्पका कारण भएको बताउनुहुन्छ ।

महानगरको केन्द्रीय कार्यालय पुनःनिर्माणका लागि हरिभवन भत्काउने चर्चा चलेपछि सर्वोच्च अदालतले नभत्काउन आदेश दिँदा उक्त काम पनि पछि परेको छ । महानगरपालिका कार्यालय र धेरै वडा कार्यालय भवन भाडामा लिएर काम गर्नुपर्दा हाल मासिक लाखौँ रकम खर्चिनुपरेको छ ।

“नागरिकलाई सास्ती दिने उद्देश्य नभई कार्यालयका लागि भाडाका भवन खोज्ने क्रममा जहाँँ प्राप्त हुन्छ त्यहीँ लिइएको हो, महानगरमा धेरै विभाग छन्, त्यसमा प्रमुख र उपप्रमुखका लागि पनि त छुट्टै स्थान चाहियो, विकल्प नभएर नै नागरिकले समस्या भोग्नुपरेको हो”, महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले भन्नुभयो । टेकुमा रहेको वातावरण विभागले भूकम्पअघिदेखि नै नागरिकलाई उक्त स्थानबाट सेवा दिँदै आए पनि धेरै विभाग भने भूकम्पपछि मात्र सुन्धाराबाट अन्यत्र सरेका हुन् ।

बाह्र हजार प्रचार सामग्री हटाइयो

काठमाडौँ महानगरपालिकाले नियमविपरीत राखिएका १२ हजार ४५ प्रचार सामग्री हटाएको छ । पछिल्लोपटक गत पुस २१ गतेबाट शहरलाई कुरुप बनाउने गरी राखिएका प्रचार सामग्री हटाउने कार्य शुरु गरिएको कामपाले हालसम्मा साना १२ हजार र ठूला ४५ वटा प्रचार सामग्री हटाएको जनाएको छ ।

आगामी चैत सम्ममा नियम बाहिर रही राखिएका सबै प्रचार सामग्री हटाउने गरी काम भइरहेको कामपाको भनाइ छ । पाँच वर्षअघि नै महानगरपालिकाले साइनबोर्ड र होर्डिङबोर्ड हटाउने निर्णय गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा शहर कुरुप देखिँदै आएको छ । नगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार त्रिपुरेश्वर–महाराजगञ्ज र माइतीघरदेखि बिजुलीबजार तथा त्रिपुरेश्वरदेखि थापाथलीसम्मका सडक किनारका होर्डिङबोर्ड हटाउने काम सकिएको छ । बागबजारदेखि रत्नपार्क, बालुवाटारदेखि डिल्लीबजारसम्मको पनि प्रचार सामग्री हटाउने कार्य सकिएको छ ।

उहाँले भन्नुभयो, “चालू आवभरिमा महानगरपालिकाभित्रका स्वीकृतिबिना राखिएका सबै विज्ञापन बोर्ड हटाइन्छ ।” अहिले दैनिक चार टोली प्रचार सामग्री हटाउनका लागि निरन्तर लागिरहेका छन् । अहिले ठमेलमा प्रचार सामग्री हटाउने कार्य भईरहेको छ । अबको कही दिनपछि चावहिल, गौशाला र शहरको भित्री क्षेत्रमा राखिएको सामग्री हटाउने तयारी कामपाको छ ।

महानगरका अनुसार दैनिक चार टोलीले दैनिक दुई सय बढीका दरले बोर्ड हटाउने काम भइरहेको छ । नीतिअनुसार महानगरपालिकामा दर्ता भएका व्यवसायीले मात्र साइनबोर्ड राख्न पाउँछन् । त्यस्तै एक व्यवसायीले एउटा मात्र साइनबोर्ड राख्न पाउने व्यवस्था छ । तर, व्यवसायीले महानगरको नीति कुल्चेर एकभन्दा बढी साइनबोर्ड राख्ने गरेका छन् ।

साइनबोर्डको अधिकतम साइज तीन फिट उचाइ र ३० वर्गफिट तोकिएको छ । बोर्ड राख्दा भिन्न–भिन्न ठाउँमा नराखी एकीकृतरूपमा ठाडो गरी राख्नुपर्ने समेत नीतिले निर्देशन छ । साथै सपिङ कम्प्लेक्स तथा व्यावसायिक भवनमा छुट्टाछुट्टै साइनबोर्ड नराखी एकै स्थानमा भर्टिकलरूपमा राख्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.