काभ्रेको चौंरीदेउराली र बैतडीमा बस दुर्घटना
काठमाडौँ, २१ फागुन : काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका–५ ढाँटखर्कमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ४४ जना घाइते भएका छन् । रामेछाप जिल्लाको गुराँसेबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ख ७१०२ नंको बस पछाडि सार्ने क्रममा सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कात्तिकेदेउरालीका प्रहरी निरीक्षक पवनकुमार झाले बताउनुभयो । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
घाइतेहरु सबैको उपचारका लागि धुलिखेल अस्पताल पठाइसकेको प्रहरीले जनाएको छ । “घाइतेहरुको नाम र ठेगाना खुलेको छैन, हामीले उपचारका लागि पहिलो प्राथमिकतामा राखेर उद्धारपश्चात् अस्पतालतर्फ पठाएका छौँ”, प्रहरी निरीक्षक झाले भन्नुभयो । गाडीको चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बैतडीमा बस दुर्घटनामा पाँच घाइते
यस्तै, महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीमा आज बिहान बस दुर्घटना हुँदा पाँच घाइते भएका छन् । घाइते हुनेमा बैतडी सुर्नयाका २२ वर्षीया विनिता कुँवर (टेर), दार्चुला ब्यासका ३३ वर्षीया बिन्दु कुँवर, ५५ वर्षीया गोविन्दी कँुवर, दार्चुला दुहुका ३० वर्षीय ललित बोहरा र २४ वर्षीय महेश बडाल छन् ।
घाइतेको बैतडी र दार्चुलाका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । घाइतेको प्रहरीचौकी खोचलेकका प्रहरी सहायक निरीक्षक शङ्करदत्त भट्टको टोलीले उद्धार गरेको हो । बसमा सवार ४० जना रहेको भए पनि अन्यको अवस्थामा सामान्य रहेको छ ।
महेन्द्रनगरदेखि गन्ना जाँदै गरेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस न्वालीमा आज बिहान ५ बजेतिर एक्कासि नालीमा पल्टिन गई दुर्घटनामा परेको हो । बस चालक दीपक बोहरा प्रहरी नियन्त्रणमा रहेका छन् । ओरालो बाटोमा गति अनियन्त्रित हुँदा बस दुर्घटनामा परेको चालकले प्रहरीसमक्ष बताएका छन् ।
